स्वास्थ्यसमाचार/सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उनको भनाई छ ।
पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा.गौतमले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिकया दिनुहोस्