प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दीर्घजीवी बनौं

स्वास्थ्यसमाचार/प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दीर्घजीवी बनौं भन्ने उद्घोषका रुपन्देहीको सैनामैना १ चारपाला स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताहव्यापी रुपमा योग चिकित्सा जागरण कार्यक्रम शुरु भएको छ ।

“निरोगी बनौं, दीर्घजीवी बनौं, स्वच्छ प्राकृतिक जीवनशैली अवलम्बन गरौं” भन्ने मुल नाराका साथ रुपन्देहीको सैनामैना १ कनकट्टा स्थित प्राकृतिक चिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह शुरु भएको हो । आगामी २८ गतेसम्म संचालन हुने सो योग चिकित्सा जागरण सप्ताहको उद्घाटन समारोहमा सहभागि वक्ताहरुले प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाई निरोगी र दीर्घजीवी बन्न सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले पछिल्लो समय परिवर्तित स्वभाव र आहार बिहारका कारण मानव जीवनशैली विकराल समस्याग्रस्त बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै योग ध्यान, आयाम, व्यायाम, प्रणायमबाट जिवन सुखमय बन्ने बिश्वास ब्यक्त गरे ।

योग तथा प्राकृतिक चिकित्सा पद्धतिका सम्बन्धमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयले पुराएको योगदानको चर्चा गर्दै नगर प्रमुख शर्माले यसको बिकास र प्रबर्द्धनका लागि नगरपालिकाको तर्फबाट भरपुर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा योग चिकित्सा जागरण अभियान तथा सहयात्रा राष्ट्रका लागि युवा नेपालका संयोजक डा. निकोलस भुसालले अभियानमा सहभागि भै प्रयाप्त मात्रामा स्वास्थ्य लाभ लिन सबैलाई आग्रह गर्दै धार्मिक, आध्यात्मिक र ज्ञान विज्ञानको समिश्रण नै प्राकृतिक योग तथा चिकित्सा पद्धती भएको दावी गर्नुभयो । मन र मष्तिष्कलाई स्वच्छ र स्वच्छ राख्न प्राकृतिक चिकित्सा पद्धतिको भुमिका महत्वपुर्ण हुने डा. भुसालको भनाई थियो ।

पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाल योगेश्‍वर बैष्णवानन्द, दिनमणी बस्याल, ध्रुवकुमार घिमिरे, चिन्तामणि शर्मा लगाएत बिभिन्न योग गुरु तथा बिद्धानहरुबाट योग, ध्यान, ज्ञान र विज्ञानको प्रयोगबाट गरिने उपचार पद्धतिका बारेमा जानकारी गराइएको थियो ।

साथै बिभिन्न रोगहरुको उपचारका लागि अपनाउनु पर्ने आहार, बिहार, बिचार र प्रयोगका बारेमा समेत प्रष्ट पार्दै जीवनमा सुख र समृद्धि प्राप्त गर्ने उपायहरूका बारेमा चर्चा गरिएको थियो ।

 

 

सम्बन्धित शिर्षक :