फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर सचेतना दिवस संसारभर मनाइन्छ। यो दिवस सन् २००० देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल(यू आईसीसी)को आह्वानमा मनाउन थालिएको हो।विश्व स्वास्थ्य संगठनले सन् २०२२ देखि २०२४ सम्मको नारा “क्लोज द केयर ग्याप” अर्थात ‘उपचारमा असमानता हटाऔं’ भन्ने तय गरेको थियो।
नेपालले भने यस वर्ष नारालाई स्थानिय करण गर्दै “बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको” भन्ने बनाएको छ।विश्वका अधिकांश मुलुकको ६० प्रतिशत भन्दा बढी मृत्युको कारण नसर्ने रोगहरूले हुने गरेको तथ्याङ्क रहेको छ। नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ।
मुटु तथा अन्य नसर्ने रोगको तुलनामा क्यान्सर रोगको उपचारको पहुँच अझै पुगेको देखिदैन। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष करीब ३० हजार क्यान्सरका बिरामी थपिन्छन् भने हरेक वर्ष करीब २० हजारको क्यान्सरका कारण मृत्य हुने गरेको पाइन्छ।
फ्याक्ट सिट नेपाल २०२० का अनुसार नेपालमा देखिएका प्रमुख १० क्यान्सर मध्ये फोक्सोको क्यान्सर–१२.२ प्रतिशत, पाठेघरको मुखको क्यान्सर–१०.९ प्रतिशत, स्तन क्यान्सर–९.६ प्रतिशत, आमाशय–७.६ प्रतिशत, पित्तथैली– ४.९ प्रतिशत, मुख तथा ओठ–४.१ प्रतिशत, थाइराइड–३.४ प्रतिशत, ठुलो आन्द्रा–३ प्रतिशत, रगत–२.९ प्रतिशत, डिम्बाशयको क्यान्सर–२.९ प्रतिशत रहेको छ।
यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासँग “क्लोज द केयर ग्याप” अर्थात ‘उपचारमा असमानता हटाऔँ’ भन्ने थिमको सेरोफेरोमा रहेर क्यान्सर उपचारमा नेपालमा के कस्ता असमानता देख्नुभएको छ यस्ता ग्याप पुरा गर्न स्वास्थ्य मन्त्रालयका के कस्ता कार्यक्रम छन् ? भनी प्रश्न सोधेका छौ।
क्यान्सर उपचारमा नेपालमा के कस्ता असमानता देख्नुभएको छ ?
डा विकास देवकोटा नेपालमा नसर्ने रोगहरू बढिरहेको अवस्थामा क्यान्सर त्यो मध्येको एउटा हो भने जुन ८ प्रकारका कडा रोगको लागि सरकारले एक लाखको अनुदान दिएको छ, त्यो सेवा लिनेमा क्यान्सर एक नम्बरमा छ। यसबाट नेपालमा क्यान्सर नसर्ने रोगहरू मध्ये पहिलो नम्बरमा छ भन्दा फरक नपर्ला। तर उपचारमा आउनेको संख्यामा मुटुरोगी भन्दा क्यान्सर रोगी बढि भने नहोलान्।
क्यान्सरको लागि धेरै पैसा खर्च हुन्छ त्यो एउटा समस्या हो भने शहरमा उपचारको सुविधा हुनु अर्को समस्या हो। अर्को औषधिहरूको गुणस्तरमा पनि मुल्य फरक–फरक रहेको छ एउटै किसिमको औषधि चार हजारदेखि चालिस हजार सम्मको छ। यसले पनि असमानता बढाइरहेको छ।
त्यसैगरी हामी उपचारमा मात्र केन्द्रित भयौं रोकथाममा ध्यान कम दिएका छौ जसले गर्दा क्यान्सर बढेको छ आइसीयु चाहिने व्यक्तिहरू बढ्न थालेका छन् यो अर्को ठुलो चुनौतीको रुपमा आएको छ। त्यस्तै अर्को भनेको उपचार गर्न लामो समय अस्पतालमा बस्नुपर्छ। यी सबै कुरा हेर्दा चुनौती धेरै देखिन्छ। यस्तोमा के गर्नुपर्ला भन्नेमा मेरो चार–पाँच वटा भनाई रहेको छ।
पहिलो भनेको उपचार सेवाको व्यवस्थामा एकरूपता ल्याउनुपर्छ। त्यो भनेको हामीले क्यान्सरको उपचारको प्रोटोकल जुन बनाएका थियौं त्यो सबै नै लागू गरिदिनुपर्यो। क्यान्सरको उपचारमा निजी र सरकारी अस्पतालको उदाहरण दिनुपर्दा जुन सरकारको सहुलियत दिने एक लाख रुपैया छ त्यो निजी अस्पतालमा दश दिनमा सकिन्छ भने सरकारीमा एक महिनामा सकिन्छ।
त्यस्तै कतिपय उपचार एक ठाँउमा उपभोग गरिराखेको हुन्छ त्यही अर्कोमा दोहोरिन्छ। जसका कारण उपचार व्यवस्थापनमा निजी सरकारी सबैले एकरूपता ल्याउन जरुरी छ। जारी भएको क्यान्सर प्रोटोकल सबैले मान्नुपर्छ।
दोस्रो भनेको रोकथाम स्क्रिनिङ र जनचेतनामा ध्यान दिनुपर्छ। किनभने त्यो नहुदा सम्म सधैं ग्याप हुन्छ। ग्याप कम गर्नेमा स्क्रिनिङ गरेर रोग छिटो पत्ता लगाएमा कतिपय निको हुन्छन् र कतिपयलाई कम खर्चमा उपचार गर्न सकिन्छ।
तेस्रो भनेको जो क्यान्सर उपचारमा संलग्न अस्पताल र संघसंस्थाहरु छन् उहाँहरूसँगको समन्वय सहकार्य र समुदायको भूमिका ठूलो हुने गर्छ। किनभने नेपालमा क्यान्सरको उपचार एकदमै सहज उपलब्ध भइनसकेको अवस्थामा यो कुराले धेरै महत्व राख्छ। यसका लागि हाम्रो सरकारी र प्राइभेटमा भएका संस्था स्वास्थ्य मन्त्रालय क्यान्सर सोसाइटीका बिचमा सहकार्य बढाउनुपर्छ भन्ने रहेको छ।
त्यसैगरी अर्को भनेको औषधिहरू नयाँ नयाँ उत्पादन भइरहेको अवस्थामा बाहिरबाट त्यसको पैठारीमा कानुन सम्मत सहजीकरण हुन आवश्यक छ। औषधी व्यवस्था विभाग (डिडिए)सँग सहजीकरणको आवश्यकता देखिन्छ। यसको लागि पनि कस्ता औषधि छन् के छन् भनेर हामीलाई विज्ञको समुहको सहयोग चाहिन्छ।
अर्को उपकरणहरू पनि रेडियोलोजीमा नेपाल सरकारले सहुलियत दिईरहेको छ। अब बाँकी यो उपकरणहरू नेपालमा कुन क्षेत्रमा कति छन्। त्यसमा समुचित दायित्व हुनुपर्यो एउटै शहरमा मात्र नभएर सबै ठाउंमा व्यवस्थित भयो भने सहज हुन्छ। अर्को मलाई लागेको हाम्रा सरकारी अस्पतालमा जुन ठुला अस्पतालहरू छन् सरकारी संघीय अस्पतालहरूमा ग्याप हटाउन पहल गर्नुपर्छ।
त्यसकारणले बुँदागत रुपमा भन्नुपर्दा यसरी भन्न सकिन्छ।
१. क्यान्सर रोगको उपचार धेरै महँगो हुने भएकाले स्क्रिनिङमा धेरै जोड दिएर समयमै रोगको पहिचान गरी असमानता कम गर्न सकिन्छ।
२. औषधि र उपकरणहरूको समुचित प्रयोग र व्यवस्थापनमा ध्यान दिनुपर्छ। र सहजीकरण गर्नुपर्छ।
३. मन्त्रालय अन्तर्गतका ठुला सरकारी अस्पतालमा क्यान्सर उपचारको बाटो खोल्नुपर्छ।
४. विज्ञहरूसँग सहकार्य बनाउने काम गनुपर्छ।
यी कुरा गर्यौ भने यसमा रहेको ग्याप केही भए पनि कम गर्न सकिन्छ।
यस्ता ग्याप कम गर्न सरकारका योजना, रणनीति र कार्यक्रम के कस्ता छन् ?
डा विकास देवकोटा यसमा पहिलो भनेको हामीले रोकथाममा जोड दिएका छौँ। त्यसमा सबैको सहयोग भने चाहिने हुन्छ। त्यो भनेको नसर्ने रोगको पेन प्याकेजमा गाउँ गाउँमा यसमार्फत काम गरेका छौ। स्क्रिनिङ को लागि हरेक जिल्लामा काम गरिएको छ। पाठेघरको मुखको क्यान्सर सबभन्दा बढि देखिएकाले त्यसको रोकथामका लागि एचपीभी खोपको सुरुवात भएको छ। यो आर्थिक वर्षमा पनि त्यसको लागि काम गर्ने योजना बनाएका छौ।
त्यसपछि हरेक प्रदेशमा मुटु र क्यान्सरको रोगको उपचारको लागि ठुला अस्पतालमा पूर्वाधार अध्ययन गरेर त्यहा क्यान्सर र मुटुको उपचार सम्भव बनाउनुपर्छ भनेर कार्यक्रममा राखिएको छ। सरकारले हरेक क्यान्सरको उपचारमा एक लाख रकम दिइएको छ यो पनि एउटा प्रयास हो।
अर्को कान्ति बाल अस्पतालमा बाल क्यान्सरको लागि विशेष कार्यकम ल्याइएको छ। यही हिसाबले हेर्दा प्रोटोकल पनि हामीले नै बनाएका हौ। क्यान्सरका बिरामीको लागि कस्तो उपचार गर्ने, के उपचार गर्ने, कुन गर्ने, कुन नगर्ने भन्ने जस्ता कुरामा पनि प्रोटोकलको प्रयोगले काम गर्छ। यसबाट आइसीयु तथा सघन उपचार गर्ने बिरामीको संख्या घटाउने उदेश्य लिएका छौ।
प्रतिकया दिनुहोस्