नसर्ने रोगको प्रकोप बढदै :प्रदेश ५मा ९१ हजार भन्दा बढीमा मुटुरोग सम्बन्धी समस्या

मदन शर्मा
स्वास्थ्यसमाचार /नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ ।

एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह, दम, अल्जाईमर, नशा रोग, श्वासप्रश्वास सम्बन्धी रोग, मिर्गौला रोग लगायत पर्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा कुल मृत्युदर मध्य ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । विश्वमा नसर्ने रोगको प्रकोप बढिरहेको अबस्थामा नेपालमा पनि यसको प्रकोप तिव्र गतिमा वृद्धि भइरहेको छ । नेपालमा सन् २०१८ मा भएको कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोगबाट भएको थियो ।

जसमा मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वासप्रश्वास सम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत रहेको थियो । साथै, अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।नसर्ने रोग तथा समस्या मध्य मुटु सम्बन्धी रोग र समस्या अत्याधिक रहेको छ ।

प्रदेश नं ५को स्वास्थ्य र्निदेशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ९१ ह्जार १ सय ७५ जनामा मुटु रोगको समस्या देखिएको छ ।जसमध्य उक्त रक्तचाप हुनेको संख्या अत्याधिक ८६ हजार ३ सय ५१, मुटु रोगका बिरामीको संख्या १ हजार १ सय ५३, हृदयघात हुनेको संख्या १ हजार ९ र अन्य मुटु सम्बन्धी समस्या रहेकाको संख्या २ हजार ६ सय रहेको निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मिले जानकारी दिए। यो तथ्यांक प्रदेशको स्वास्थ्य र्निदेशनालयमा रिपोर्ट गरेका सरकारी तथा निजी स्वास्थ्य संस्थाको मात्र हो । यद्यपी मुटु सम्बन्धी समस्या अझै बढी हुन सक्ने उनको दावी छ ।

नसर्ने रोगका कारण मृत्यु हुनेमा ३० देखि ६९ वर्षसमुहका मानिस बढी रहेका छन् । यसमा पनि प्रायः निम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् । बुटवलको गौतम बुद्ध सामुदायीक मुटु अस्पतालका वरिष्ट मुटु रोग विशेषज्ञ डा समिर गौतमका अनुसार साना बालबालीकामा जन्मजात मुटु रोगको समस्या बढी हुने, युवावस्थामा मुटुको भल्भ सम्बन्धी समस्या बढी हुने र वृद्धावस्थामा हृदयघातको समस्या बढी हुने गर्दछ । तर पछिल्लो समयमा हृदयघातको समस्या वृद्धावस्थामा मात्र सिमीत नभई युवावस्थामा पनि देखिएको उनकोे भनाई छ ।

युवावस्थामा मुटु रोग लाग्नु र यस सम्बन्धी समस्या देखिनुको पछाडी मुख्य ३ कारण रहेको डा समिरको भनाई छ । पहिलो धुम्रपान, दास्रो मानसिक तनाव र तेस्रो आफ्नो शरीर प्रतिको व्यवास्था । धुम्रपानले रगत बग्ने नशालाई साँघुरो बनाई उक्त रक्तचापलाई बढावा दिनेभएकाले मुटुलाई काम गर्न गाह्रो हुन्छ ।यसले हृदयघातलाई निम्त्याउने गर्छ ।

मानसिक तनावले शरीरमा हर्मोनल गतिविधिलाई बढाएर कोलेस्ट्रोल, टिजी लगायतलाई बढाउने हुँदा हृदयघातको उच्च जोखिम हुने गर्छ । शरीरिक बेवास्था भन्नाले के बुझिन्छ भने हाम्रो जस्तो विकाशोन्मुख देशमा नियमित शरीरिक चेकजाँच गर्ने बानीको अझै विकास भईसकेको छैन । सामान्यतया शरीरमा केही ठूलो समस्या नदेखिकन अस्पताल नजाने बानीले पनि यस्ता खतरनाक रोगलाई बढावा दिईएको छ ।

विश्वव्यापिकरण, शहरीकरण, जनसंख्या बृद्वि, तथा जीवनशैलीमा आएको परिवर्तन तथा बातावरणीय प्रदुषण लगायतका कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गैरहेको छ ।यी कारणले गर्दा नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा देखा परिरहेको छ । मुटु अस्पतालकै अर्का स्वास्थ्यकर्मि सुमन तिमल्सीनाले मुटु सम्बन्धी समस्यालाई निम्तीनै नदिन दैनीक १ घण्टाको शारीरिक व्यायाम गर्ने, धुम्रपान मध्यपानको जीवनशैलीलाई सुधार गर्ने, अत्याधिक तनाव नलिने, नियमित चेकजाँच गरी शारीरिक अवस्थाको बारेमा जानकार रहने, औषधिको प्रयोग गर्दा डाक्टरको सल्लाह बमोजिम मात्र प्रयोग गर्ने वताए ।

सरकारले मुटु रोग संगसंगै अन्य नसर्ने रोगका लागि विशेष गृहकार्य पनि नगरेको होईन । मृगौला, क्यान्सर लगायतका रोगका बिरामीलाई अनुदान पनि दिने गरिएको छ । प्रदेश ५को सामाजीक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत शैलेन्द्र पाण्डेका अनुसार नसर्ने रोगको हकमा सेवा सुविधा दिने स्वास्थ्य संस्थालाई अनुदान दिने कार्यक्रम संचालनमा रहेको छ ।

त्यस्तै प्रदेश भित्रका १२ वटै जिल्लामा स्वास्थ्य संस्थाको टिममार्फत स्क्रिनीङको कार्य पनि गरिरहेको जानकारी दिए। । त्यसैगरी अर्को मुख्य गृहकार्य भनेको नसर्ने रोगको जोखिमयुक्त ठाउँमा जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोगमा विशेष स्वास्थ्य शिविर पनि नियमित रुपमा संचालनमा राखिएको उनको भनाई छ ।

सो शिविरको अवधिमा उपचार संभव हुनेलाई उपचार गरिएको र संभव नभएकालाई उपयुक्त ठाउँमा रिफर गरिएको पनि वताए। तसर्थ यस्ता नसर्ने रोगमा न्यूनीकरण ल्याउन मुख्य गरी मान्छेले आफ्नो खानपानमा ध्यान दिने र जीवनशैलीलाई सुधार गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

सम्बन्धित शिर्षक :