प्यारासिटामोल :- उचित प्रयोग गरौँ !

– दर्पण घिमिरे “केडिबी

चिकित्साशास्त्र अध्ययनरत हाल बढ्दै गरेको चिसो मौसममा रुघा-खोकी, ज्वरो जस्ता रोगहरु देखिनु सामान्य कुरा भइसकेको छ । आजकल, रुघाखोकी, ज्वरोको उपचार घरमै बसिबसी गर्न सिकिसकेका छौँ । तातो झोलिलो पदार्थ पिउने, न्यानो लुगा लगाउने लगायत तरिका प्रयोग गर्दा रुघाखोकी वा ज्वरोबाट वचन सकिनुका साथै निदान समेत गर्न सकिन्छ ।

तर, हिजोआज, बढ्दो बैज्ञानिक युगसङ्गै प्राथमिक घरेलु उपचार त्यागेर, झट्टै केमिकल औषधीहरुको प्रयोग गर्न थालिएको पाइन्छ । बन्द आखाले पुर्ण विश्वासका साथ प्रयोग गरिने औषधीहरु मध्ये “प्यारासिटामोल”(Paracetamol) पनि एक हो । प्यारासिटामोल / एसिटामिनोफेन (आमभाषामा “सिटामोल”), दुखाई निर्मुलिकरण तथा ज्वरो कम गर्न प्रयोग गरिन्छ । यति मात्रै नभएर, टाउको दुख्ने, ढाड दुख्ने, दात दुख्ने, रुघाखोकी लाग्दा, ज्वरो आउदा, गठिया (arthritis)लगायतका उपचारमा समेत प्यारासिटामोलको प्रयोग गरिन्छ ।

कुनै कुराको पनि अधिक प्रयोग विनाशकारी हुन्छ भनेझै प्यारासिटामोलले रोग निर्मुल गरेर वरदानकारी भुमिका निभाएसङ्गै, यसको अधिक प्रयोगले अभिसापको भुमिका वर्ण गर्छ । शरीरमा, प्यारासिटामोलको मात्रा अधिक भएको खण्डमा :- – पखाला लाग्ने, – अत्याधिक पसिना आउने, – खान मन नलाग्ने, – वाकवाकी लाग्ने वा वान्ता हुने, – पेट दुख्ने, – माथिल्लो पेट सुन्निने, दुख्ने, लगायत विभिन्न लक्षणहरु देखापर्छन् । प्यारासिटामोल प्रयोग गरिरहदा यस्ता लक्षणहरु देखापरेमा आफुले जचाइरहेको वा नजिकको स्वास्थ चौकी/अस्पतालमा तुरुन्त सम्पर्क गर्नुपर्छ ।

प्यारासिटामोलको मात्रा कति ? * बालबच्चाका लागि :- १ महिना वा सोभन्दा कम उमेरकालाई १०-१५ मिलिग्राम/के.जि/डोज, हरेक ६-८ घण्टाको अन्तरमा १ महिनाभन्दा बढी र १२ वर्ष ननाघेकालाई १०-१५ मिलिग्राम/के.जि/डोज, हरेक ४-६ घण्टाको अन्तरमा * बाकी सबै उमेरसमुहका लागि :- अधिकतम १ ग्राम (१००० मिलिग्राम)/डोज वा, ४ ग्राम (४000 मिलिग्राम) एक दिनमा प्यारासिटामोलको अधिक प्रयोगले कलेजो सिरहोसिस् (liver cirrhosis) अर्थात् कलेजोको क्रियामा ह्रास आउँछ । Liver Cirrhosis को अर्को कारक “मदिरापान” समेत हो । तसर्थ, मदिरापान गर्ने बानी भएको बिरामीले आफ्नो डाक्टरलाई आफ्नो बानीको बारेमा पुर्वजानकारी गराउनुपर्छ र साथै आवश्यक सल्लाह/परामर्श लिनुपर्छ ।

रुघाखोकी लाग्दा वा ज्वरो आउदा, कहिलेकाही सिटामोल सङ्गसङ्गै “साइनेक्स”,”डिकोल्ड” जस्तै अन्य औषधीहरु पनि सेवन गरिन्छ । साइनेक्स र डिकोल्डहरुमा पनि प्यारासिटामोल मिसाइएको हुन्छ । भुलवश, सिटामोल सङ्गै यस्तै सिटामोल मिसाइएका अन्य औषधी सेवन गर्दा, शरीरमा प्यारासिटामोलको मात्रा अभिवृद्धि भई, लिभर सिरहोसिस् हुन सक्छ । तसर्थ, आफुले सेवन गर्ने औषधीमा लेखिएका नाम राम्रोसङ्ग हेरेर, बुझेर, डाक्टरको उचित परामर्श लिएर मात्रै सेवन गर्नुपर्छ । यस्तै, कुनैबेला हामीले औषधी खानुपर्ने निर्धारित समयमा खान छुटाउछौ ।

त्यस बखतमा छुटेको डोज, अर्को निर्धारित खानुपर्ने समयभन्दा केही समय अन्तर राखेर सेवन गर्नुपर्छ । जस्तैः बिहान ६ बजे, दिउँसो १२ बजे, बेलुका ६ बजे र राती १२ बजे गरि चार टाइम सेवन गर्न निर्धारण गरिएकोमा, दिउँसो १२ बजेको सेवन गर्न छुट्यो । बेलुका ५ बजे वा साढे ५ बजे बल्ल, १२ बजेको औषधी सेवन गर्न सम्झिएर, पुर्वनियोजित बेलुका ६ बजेको सेरोफेरोमा खानुहुँदैन ।

यसको साटो, छुटेको १२ बजेको डोज छोडेर, पुर्वनियोजित तवरले बेलुका ६ बजे सेवन गर्ने । यद्यपि, दिउँसो १२ बजेको छुटेको औषधी, दिउँसो १ बजेको सेरोफेरोमा भने सेवन गर्न सकिन्छ । प्यारासिटामोल जस्ता औषधीहरु, परामर्श गरेर उचित मात्रामा सेवन गर्दा रोग निवारण गरि वरदान बन्छन् भने, यिनैको दुरुपयोग, अधिक सेवन वा हेलचेक्राइले अभिषाप पनि बन्न सक्छन् । स्वस्थ रहौँ , स्वास्थ्य बचाउँ !!

लेखक  घिमिरे देवदह मेडिकल कलेज भलुहीमा चिकित्साशास्त्र अध्ययनरत छन ।

सम्बन्धित शिर्षक :