स्वास्थ्यसमाचार /अस्पतालको ढोका पार गर्दा बिरामी शरीरभन्दा ठूलो बोझ मुटुमा बोकेर भित्र छिर्छन—डर, आशा, चिन्ता र पीडा। त्यही बेला उनीहरूलाई औषधि भन्दा पहिले सुनिने उपचार हो-कसैको बोली।
“नडराउनु है, हामी तपाईंको साथमा छौं” भन्ने एक वाक्यले कहिलेकाहीँ सुईभन्दा छिटो मन निको पारिदिन्छ। तर यहाँ प्रश्न उठ्छ-के मिठो बोली नर्सको मात्रै कर्तव्य हो, कि सेवाग्रही बिरामीको पनि?
अस्पतालको इमरजेन्सी कक्ष कहिल्यै सुन्निन्न। घडीको काँटा बिउँझिएको झैँ दौडिरहन्छ। एउटी नर्स थकान बिर्सेर रिपोर्ट पल्टाइरहेकी हुन्छिन्। उनी सोध्छिन्, “दाइ, कति दिनदेखि दुखिरहेको हो?”
कहिलेकाहीँ उत्तर शान्त हुन्छ-“हिजोदेखि है।” तर धेरैजसो पटक उत्तेजित जवाफ आउँछ—“कति पटक सोध्नुहुन्छ? मैले पहिले नै भनेको छु नि!” त्यसो हुँदा नर्सको अनुहारमा हल्का निराशा छर्छ। वातावरण मौन हुन्छ। उपचार ठीक भएको जस्तो देखिए पनि विश्वास कमजोर हुन थाल्छ।
हाम्रो समाजले नर्सबाट सधैं मुस्कान र धैर्यताको अपेक्षा गर्छ। तर उनीहरू पनि भावनासहितका मान्छे हुन्। निरन्तर १०-१२ घण्टा ड्युटी, बढ्दो भीड, रिस उठाउने क्षण, कहिलेकाहीँ आँसु रोकी काम गर्नुपर्दा पनि-उनीहरू अझै मुस्कान बाँडिरहेका हुन्छन्।
अर्को तर्फ, बिरामी र परिवारजन पनि तनावमा हुन्छन्। रिपोर्टको डर, खर्चको चिन्ता, रोगको अनिश्चितता-यी सबैले बोली कडा बनाउँछन्। तर अस्पतालको उपचार केवल औषधि होइन, सम्बन्ध पनि हो। बोली नै विश्वास हो, व्यवहार नै उपचार हो।
यदि नर्स झर्किन्छिन् भने बिरामीको आत्मबल घट्छ। यदि बिरामी अति आक्रामक हुन्छ भने नर्सको मनोबल कमजोर हुन्छ।त्यसैले यो एकतर्फी सम्बन्ध होइन-मिठो बोल्ने नर्स मात्र होइन, बुझ्ने र सहयोग गर्ने सेवाग्रही पनि आवश्यक छन्।
यदि अस्पताललाई ‘घर’ झैँ बुझियो भने? यदि नर्सलाई ‘कर्मचारी’ होइन ‘संरक्षक’ मानियो भने? यदि बिरामीलाई ‘फाइल नम्बर’ होइन ‘भावनासहितको मान्छे’का रूपमा हेरियो भने?
सायद उपचार अझ सरल, सहज र मानवीय बन्छ। अस्पतालभित्र पनि कविता जन्मिन्छ-सहानुभूति नै त्यसको भाषा हो। त्यही कारण कहिलेकाहीँ मनभित्र एक आवाज सुनिन्छ-
“म पनि थकिएको छु,
तिमी पनि डराएको छौ,
तर यदि हामी प्रेमिल आवाज बाँड्यौं भने
उपचार चाँडो हुन्छ।”
अन्ततः मुख्य प्रश्न यही हो-
मिठो बोल्ने नर्स मात्र कि उपचारमा आउने सेवाग्रही पनि?
उत्तर हो-दुवै।
किनकि उपचार केवल शरीरको होइन, मनको पनि हुन्छ।
र कहिलेकाहीँ सबैभन्दा शक्तिशाली औषधि बोतलमा होइन, शब्दमा पाइन्छ।
किनकि उपचार केवल शरीरको होइन, मनको पनि हुन्छ। शब्दले घाउ जोड्न सक्छ, व्यवहारले भरोसा निर्माण गर्न सक्छ। अस्पताललाई उपचारको थलो मात्र होइन, संबन्ध र सहानुभूतिको सभागार मान्न सकियो भने, दुई पक्षबीचको दूरी आफैं घट्छ। बिरामीले नर्सलाई सम्मान देखाउन सिके, नर्सले बिरामीको पीडा बुझ्न सके-त्यहीबेला उपचारको ‘सफलता’ मात्र होइन, मानवीयता पनि जन्मिन्छ।
हामी सबै कुनै न कुनै दिन बिरामी वा सेवाग्रही बन्न सक्छौं। त्यसैले, आजैदेखि सिकौँ-मिठो बोली औषधि हो, धैर्य शक्ति हो, र संवाद उपचारको आत्मा हो। अस्पतालभित्रको मौन संवादलाई हामी सबैले सुन्न सक्यौँ भने, स्वास्थ्य सेवा अझ संवेदनशील, प्रभावकारी र आशावादी बन्नेछ।

प्रतिकया दिनुहोस्