भेरी अस्पतालमा उपप्रधानमन्त्री द्वारा घाइतेको अवस्थाबारे जानकारी

स्वास्थ्यसमाचार/ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार  भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ ।

उपप्रधानमन्त्रीसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीयदलका नेता तथा निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी कृष्णदेव भट्ट, काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीसहितको टोलीले अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले घाइतेहरूसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिनुहुँदै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जिज्ञासा राख्नुभयो । सो अवसरमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनाका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो ।

उहाँले भूकम्प आएलगत्तै प्रधानमन्त्री आफैले प्रभावित जिल्लामा पुगेर तत्काल उद्धार, उपचार र राहतको काम सुरु गर्नुभएकाले सरकारको सबै निकाय काममा लागेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले अब राहत र पुनर्निर्माणमा केन्द्रित हुने जनाउँदै सरकारले घाइतेको सम्पूर्ण उपचार निःशुल्क गरेकाले उपचारमा कुनै समस्या नहुने प्रष्ट पार्नुभयो । सो अवसरमा घाइतेहरूको उपचारबारेमा भेरी अस्पतालका प्रमुख डा। पवनजंग रायमाझीले जानकारी गराउनु भएको थियो ।

भूकम्पमा परी घाइते भएकामध्ये नेपालगन्जमा अहिले ३८ जनाको उपचार भइरहेको छ । नेपालगन्जमा उपचाररत रहनुभएका ३८ जनामध्ये २१ जना महिला र १८ जना पुरुष रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । जसमध्ये १२ जना बालबालिका, एक जना गर्भवती महिला र पाँच जना ज्येष्ठ नागरिक रहेका छन् ।

उपचारका लागि नेपालगन्ज ल्याइएका घाइते बिरामीमध्ये १ जना बाँकेका, २४ जना जाजरकोटको, १३ जना रुकुमपश्चिमको र १ जना सल्यानको रहेको भेरी अस्पतालले जनाएको छ । एकजनालाई अस्पताल पुगाउनु अघि नै मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षक :