युनिभर्सल मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच हात हालाहाल

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग्दै गरेको आन्दोलनले तनाव सृजना भएको छ ।

एक साताअघि विद्यार्थीहरुले क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिएको आन्दोलनमा उत्रिएपछि कलेजमा विवाद बढ्दै गएको छ ।
आइतबार आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाइएको भएपनि त्यो विषयमा प्रवेश नै नगरी आफूहरुमाथि प्रहरीले दमन गरेर प्रिन्सिपललाई भगाएको जनाएका छन् । क्याम्पस प्रशासनले भने प्रिन्सिपलले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले आन्दोलन गरेको जनाएको छ ।

एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ कलेजमै रहेकी प्रिन्सिपल पाठकलाई आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको ठूलो सुरक्षा टोली पुगेर उद्दार गरेर बाहिर ल्याएका छन् ।

‘एक सातादेखि प्रिन्सिपललाई कलेजमा बनधक बनाएर राखिएको विषय थियो, धेरै पटकका वार्ता सहमति भएनन्, प्रशासन र विद्यार्थीका मागका विषय उहाँहरु बसेर टुंगाउने हो, बन्धक बनाएका व्यक्तिलाई म आफै पुगेर बाहिर ल्याएको हो, दिनभर बसेर वार्ता गरेपनि कुनै समाधान निस्केन, हिजै सर्वपक्षीय बैठक बसेर यसरी जाने भनेर गरिएको सल्लाह बमोजिम गरिएको हो’ प्रजिअ अर्यालले  भने ।

आन्दोलनरत विद्यार्थीहरुले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् । उनले नियुक्त भएसँगै सबै विद्यार्थीहरुलाई ड्रेसकोर्ड अनिवार्य बनाएपछि कलेजमा सामान्य एप्रोन लगाएर आउने र निस्कने विद्यार्थीहरु आक्रोशित भएका थिए ।

आइतबार आफूहरुमाथि धरपकट भएको भन्दै विद्यार्थीहरुले अस्पतालको ओपिडिसमेत बन्द गराएका छन् ।आइतबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र प्रहरी प्रमुख, कलेज प्रशासन सहित विद्यार्थीलाई वार्ताका लागि बोलाइएपनि कुनै सम्बोधन नगरिएको उल्टै प्रहरी लगाएर कलेजमा रहेका प्रिन्सिपल पाठकलाई भगाइएको उनीहरुको आरोप छ ।

कलेजमा पाठक आएपछि विद्यार्थीहरूलाई अनावश्यक मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीहरूको आरोप छ ।
जसले गर्दा उनीहरूले प्रिन्सिपलको राजीनामा माग गर्दै आएका हुन् । यसअघि प्रिन्सिपल पाठकले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको सामाजिक सन्जालबाट सार्वजनिक गरेकी थिइन् ।

करिब १७ सय विद्यार्थीले अध्ययन गर्ने यो कलेजमा दैनिक सयौं जनाले उपचार लिने गरेका छन् । एकसातादेखि यहाँको सबैजसो विद्यार्थी आन्दोलनमा होमिएपनि यहाँको अध्ययन तथा उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।

चौथो, पाँचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् ।

केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । उक्त नियमले पहिलादेखि नै धेरै लगानी गरिसकेका विद्यार्थीहरूलाई थप व्ययभार पर्ने भन्दै उक्त ड्रेसकोट अस्वीकार गर्दै आएका छन् ।

कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले समस्या समाधानका लागि विद्यार्थीसँग छलफलको प्रयास भएपनि कुनै टुंगो नलागेको बताए । आइतबार भएको कलेज परिसरको विवाद र प्रहरीको धरपकड विद्यार्थी आफैले सार्वजनिक गरेका छन् । उनीहरुले कलेज परिसरमा आन्दोलन गरेपनि नाम सार्वजनिक गर्न तयार रहेका छैनन् ।

सम्बन्धित शिर्षक :