सीटीईभीटीको पूर्व निर्धारित प्रवेश परीक्षा स्थगित, नयाँ मिति तोकियो

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले आज (शनिबार) र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । स्थगित प्रवेश परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने सीटीईभीटीले जनाएको छ ।

पछिल्लो समय क्षेत्राधिकारका विषयमा सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच विवाद बढेको थियो । विवाद सुल्झिन नसक्दा तोकिएको परीक्षा स्थगित भएको हो ।

दुई संस्थाबीचको विवाद बढ्दै जाँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हस्तक्षेप गर्नु परेको थियो । शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको छ ।

शिक्षा मन्त्रालयमा प्रवेश परीक्षा सञ्चालनका विषयमा बुधबार र बिहीबार बैठक भएको थियो । आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी उपस्थिति बैठकमा आपसमा समन्वय गरेर अघि बढ्ने अनौपचारिक सहमति भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सीटीईभीटीले स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सूचना जारी गरी प्राविधिक कारणले प्रवेश परीक्षा स्थगित गरेर पुनः अर्को मिति तोकिएको जनाएको छ ।

सम्बन्धित शिर्षक :