प्यूठानको खानेपानीमा ३९ प्रतिशत दिसा जन्य पदार्थ मिसावट भेटियो

स्वास्थ्यसमाचार/ पहाडी जिल्ला प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो ।

जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँले बताउनुभयो ।

परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो ।

जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकामा खानेपानीको ११ नमुनामा परीक्षण गर्दा ८ वटामा इकोली भेटिएको छ । प्यूठान नगरपालिकामा १७ वटा नमुना परीक्षण गर्दा ११ वटामा, स्वर्गद्धारी नगरपालिकामा १८ नमुना परीक्षण गर्दा १० वटामा, गौमुखीमा गाउँपालिकामा १६ नमुना परीक्षण गर्दा ७ वटामा इकोली भेटिएको छ ।

त्यस्तै मल्लरानी गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा ६ वटामा, ऐरावती गाउँपालिकामा १७ नमुना परीक्षण गर्दा ४ वटामा, झिमरुक गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा ३ वटामा, नौवहिनी गाउँपालिकामा १९ नमुना परीक्षण गर्दा ३ वटामा र सरुमारानी गाउँपालिकामा ७ नमुना परीक्षण गर्दा १ वटामा इकोली भेटिएको छ ।

ती तथ्याङ्कको आधारमा यस जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउनका लागि चुनौती थपिएको छ । एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी पुर्याउन भने सरकार असफल भइरहेको सरोकारवालाले बताए । जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिशीको अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय सरसफाईसमितिको बैठकमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख पाण्डेले जिल्लाको खानेपानी र सरसफाइकोको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

स्वास्थ्य संस्था, सार्वजनिक धारा, निजी धारा, मुल, ट्यांकी, इनार, विद्यालयबाट नमुना परीक्षण गर्दा इकोली देखिएको स्वास्थ्य कार्यालयका ल्याव टेक्निशियन निरीक्षक परशुराम पोख्रेलले जानकारी दिनुभयो । वर्षादको मौसम भएको कारण पनि इकोली बढि देखिएको हुनसक्ने बृहत बिजुवार खानेपानी तथा सरससफाई उपभोक्ता समितिका अध्यक्ष जानका केसीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

बैठकमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बृहत बिजुवार खानेपानी आयोजना, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि र वर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना सङ्कलन गरी परीक्षण गरेको थियो ।

स्वास्थ्य कार्यलय प्युठानका प्रमुख पान्डेले वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन सबैलाई आग्रह गरेको छ । जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, , विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो ।

 

सम्बन्धित शिर्षक :