जनताको घर दैलोमा रातदिन खट्ने स्वयंसेविकालाई छैन निःशुल्क उपचार

बिन्दु भट्टराई

स्वास्थ्यसमाचार /आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् ।
अरुको उपचारमा खटिने, तर आफ्नै औषधी उपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकि राधिका पाण्डेले स्वयंसेविकाको रुपमा काम गर्न थालेको २४ वर्ष भयो । २०५२ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रहेकी उनले सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए आफूजस्ता थुप्रै स्वयंसेविकालाई राहत मिल्ने बताउँछिन् ।

“अरुको उपचारमा खटिंनुपर्दाको पीडा त एकातर्फ छँदैछ, त्यसमा आफूलाई सामान्य चोटपटक लागे मलहम पनि किनेर लगाउनुपर्ने बाध्यता छ, यस्ता समस्या राज्यले बुझिदिनुपर्छ”–उनी भन्छिन् । आफू जस्तै स्वयंसेविकाको काम गर्ने महिला केही महिना अगाडि उपचारको अभावले क्यान्सरबाट ज्यान गुमाएको उनको स्मरण छ । “यस्ता थुप्रै महिला स्वयंसेविकाहरु समस्यामा छन्”–राधा भन्छिन् ।

तिलोत्तमा नगरपालिकामा अहिले १७६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । “मान्छेलाई दुःख बिमारले पिरोलिरहन्छ । हामीले दिनरात नभनी काम गरेका छौं । तर, सुविधा छैन”–अर्की स्वयंसेविका गोमती पराजुलीको दुःखेसो छ । निःशुल्क औषधि उपचारको व्यवस्था नहुँदा राधा जस्ता थुप्ै स्वयंसेविकाहरु उदास देखीएका छन् ।

“खोप लगाउनेदेखि अन्य साना ठूला स्वास्थ्य समस्यामा स्थानीयले सम्झन्छन् । शहरमा बसेपछि सुविधा भएन भनेर काम नगरी बस्न पनि भएन”–गोमती भन्छिन् । घर घरमा गएर गर्भवती महिला पहिचान, सुत्केरी भेट गरी उनीहरुलाई स्वास्थ्यचौकीसम्म पु¥याउने जिम्मेवारीसमेत अहिले उनीहरुले पाएका छन् ।

त्यतिमात्र होईन ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउने अभियानका लागि पनि उनीहरु टोलटोलमा पुग्ने गर्छन् । दिनभरी काम गरेबापत दिनको ५० रुपैयाँ खाजाको व्यवस्थाबाट सुरु हुँदै सय, दुई सय र करिब दुई तिनवर्ष यता ४सय रुपैयाँ दिनको पाउने गरेको स्वास्थ्य स्वयेंविकाको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाका स्वास्थ्य सह संयोजक इश्वरी पौडेलले स्वयंसेवीकाले स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको, तर त्यस अनुरुप सुविधा भने दिन नसकिएको स्वीकार गरे । “नगरपालिकाले उनीहरुलाई के कस्तो सुविधा कसरी उपलव्ध गराउन सक्छ, यो छलफलको विषय बन्नुपर्छ र स्वयंसेविकाको कामलाई उचित मूल्यांकन गरिनुपर्छ”–उनको भनाइ छ ।

उनले महिला स्वास्थ्यस्वयमसेवीकाहरुको योगदानप्रति राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

सम्बन्धित शिर्षक :