सियारीले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ।

स्वास्थ्यको सियारी गाउँपालिकाको पुर्णपाठ

१) नेपाल सरकारको नीति अनुसार अत्यावश्क र आवश्यकीय स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क ‍ उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यवस्थित र गुणस्तरीय बनाईनेछ । गरिबीको रेखामूनी रहेका दलित असाहाय लगायतका नागरिकलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिनेछ ।

२) सियारी गाउँपालिकाको वडा नं।४ छपियामा निर्माणाधीन १५ शैयाको अस्पताल निर्धारित समयमै निर्माण सम्पन्न गर्नका लागि आवश्य्क बजेट व्यवस्थापनको लागि नेपाल सरकारसँग विशेष आग्रह गरिनेछ ।

३) गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । गर्भवती महिला, असाध्य रोग लागेका विरामी, ७० बर्ष माथिका ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख” वर्गको परिचय पत्र भएका अपाङ्ग लगायतलाई रुपन्देही जिल्ला भित्र निशुल्क र अन्य विरामीहरुलाई न्यूनतम शुल्कमा प्रदान गरिरहेको एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।

४) खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गरी उचितरुपमा परिचालन गरिनेछ । साथै परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लक्षित वर्गलाई सुसुचित गरिनेछ ।

५) आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गरीनेछ । बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसूति गराइएका सियारी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई प्रदान गरिदै आएको उपाध्यक्ष सुत्केरी पोषण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

६) जग्गा ब्यवस्थापन भएका स्थानहरुमा खोप केन्द्र भवनहरुको निर्माण गर्दै लगिनेछ ।

७) संघीय र प्रदेश सरकारसागको समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई सहज र सरल बनाइनेछ ।

८) बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ ।

९) ७० बर्ष माथिका ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख” वर्गको परिचय पत्र भएका नागरिकहरुलाई प्रदान गर्दै आएको घरदैलो उपचार कार्यक्रम लाई प्रभावकारीरुपमा सञ्चालन गरिनेछ ।

१०) सियारी गाउँपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निःशुल्करुपमा ब्लड(बैंकबाट उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

११)नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गरी आयुर्वेद पद्धती र योग अभ्यासको माध्यमबाट शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१२) प्रत्येक स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थापन गरिदैं लगिने नीति अवलम्वन गरिनेछ ।

१३) सिकलसेल एनेमिया रोगका विरामिहरुलाई निशुल्क उपचार गरिने छ साथै सुगर र ब्लड प्रेसरको औषधि निःशुल्क वितरणको व्यवस्था गरिनेछ ।

१४) प्रयोगशाला तथा वर्थिङ्ग सेन्टरको सेवालाई थप व्यवस्थित र भरपर्दो वनाइनेछ ।

१५) नेपाल सरकारको सहयोगमा क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य उपचार भत्ताको व्यवस्था गरिनेछ ।

१६)सियारी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिनेछ ।

१७) क्षयरोग र कुष्ठरोग जस्ता रोगहरुलाई नियन्त्रण गर्ने कार्यक्रम सक्रियताका साथ लागु गरिनेछ ।

१८)सियारी गाउँपालिका भित्र रहेका पूर्ण अपांगता क र ख र कुष्ठरोग, हात्तीपाइले, एच।आई।भीरएड्स, सिकलसेल एनेमिया रोग प्रभावित व्यक्तिहरुलाई संस्थागत साझेदारीमा आर्थिक उपार्जनका कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

१९) फिजियो थेरापी सेवा सञ्चालनमा ल्याई अशक्त, दीर्घरोगी एवं अपांगलाई स्थानीय स्तरबाटै सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।

 

सम्बन्धित शिर्षक :