लुम्बिनीमा क्षयरोगी बढे: रुपन्देहीमा १७ सय र रुकुम पश्चिममा ५७ जना

क्षयरोग, नियन्त्रणमा खुल्ला सीमा चूनौती

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन ।

प्रदेशमा प्रति एक लाख जनामा १५७ जनामा क्षयरोग देखिने गरेको तथ्यांक रहेको छ । २०७४।७५ मा कुल ६ हजार ५ सय ८६ जना र प्रति १ लाखमा १३४ जना, २०७५/७६ मा कुल ५ हजार ९ सय ८ड जना र प्रति एक लाखमा १२० जना, २०७६।७७ मा कुल ५ हजार ६ सय ६५ जना र प्रति एक लाखमा ११२ जना क्षयरोगी रहेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा कूल ५ हजार ८सय ६२ जना र प्रति एक लाखमा ११४ जना रहेकामा २०७८/८९ मा अघिल्लो वर्षको तुलनामा २२ सय बढी ८ हजार ९० जना क्षयरोगी पुगेका हुन् । जसमा पुरुष ६२ प्रतिशत र महिला ३८ प्रतिशत ,बच्चा १० प्रतिशत रहेका लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन रामप्रसाद भट्टराईले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये सबै भन्दा धेरै रुपन्देही र सबैभन्दा कम रुकुम पुर्वमा रहेका छन् ।नेपालमा हाल कुल ६९ हजार क्षयरोगी रहेको सर्वेक्षणले देखाएपनि ३७ हजार ८ सय ६१ जना उपचाररत रहेका र ३१ हजार जनाको पहिचान हुन बांकी छ ।

रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पुर्वमा ५७ जना क्षयरोगी रहेका छन् ।प्रति एक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै रहेको जानकारी गराए । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोगी भेटिएको फोकल पर्सन भट्टराईले बताए ।क्षयरोगीहरु मध्ये १५ वर्षदेखि ६४ वर्ष उम्ेरसम्मका ६८ प्रतिशत र ६५ वर्ष माथिका ३२ प्रतिशत रहेका उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीका पालिकाहरु मध्ये बुटवल उपमहानगर पालिकामा सबैभन्दा धेरै २३४ जना क्षयरोगी भेटिएको बताए । क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको बताए । यसकारणले लुकेर रहेका धेरै भन्दा धेरै पहिचान गर्ने गरी आफुहरु लागि रहेको बताए ।

अझै पनि समाजमा क्षयरोग बारे जनचेतनामा कमि रहेको कारण बिरामीहरु खुलेर चेकजाँचको लागी आउन नसकेको ढकालको भनाई छ।सेभ द चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिंहले लुम्बिनी प्रदेशको अबस्थाबारे जानकारी गराउदै स्वास्थ्य शिक्षा,जनचेतना जगाउने कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताए।

 

विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले पत्रकारसंग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताए ।

स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयरोग फोकल पर्शन हुमनाथ खनालले मानिसको मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा रहेको उल्लेख गरे ।

सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको र ६ महिना देखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने खनालले बताए । ।सामान्य क्षयरोगीले कम्तिमा ६ देखि ९ महिनासम्म औषधी खानुपर्छ भने डिआर क्षयरोगीहरुले कम्तिमा एक वर्षदेखि १८ महिना वा सो भन्दा पनि बढी औषधी खानुपर्ने उनले बताए ।

सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने सरकारको लष्य रहेको छ । क्षयरोगका बिरामीको उपचारमा ९१.५ प्रतिशत बिरामी निको हुने गरेका छन् ।

स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयरोग फोकल पर्शन हुमनाथ खनालको संञ्चालनमा भएको थियो।

मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा

नेपालमा मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा छ । ६ महिना देखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ, तर बिरामी संख्या घटेको छैन । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको स्वास्थ्यकर्मिहरु बताउँछन् ।

क्षयरोगका दुई किसिमका बिरामी हुन्छन् । डिएस (सामान्य) र डिआर (गम्भीर) । औषधि खान छुटाउँदा वा औषधिले काम नगरेको अवस्थामा डिएस बिरामी डिआर (औषधि प्रतिरोधी) मा परिणत हुन्छन् ।

सामान्य क्षयरोगीले कम्तिमा ६ देखि ९ महिनासम्म औषधी खानुपर्छ भने डिआरहरुले कम्तिमा एक वर्षदेखि १८ महिना वा सो भन्दा पनि बढी । एक महिना औषधि खाएपछि बिरामीलाई निको भएजस्तो महसुस हुन्छ । बिचमा छोड्दा औषधिले नराम्रो प्रतिक्रिया जनाउँछ । स्वास्थ्य कार्यालय प्रमुख ढकालले भने यसरी डिआर भएका बिरामी झन् बढी संक्रामक हुन्छन् । उनीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । क्षयरोगका डिआर बिरामीले चार वर्षसम्म नियमित औषधी खानु पर्ने उनको भनाई छ ।

लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सकृय क्षयरोगका लक्षणहरू हुन् । अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् । यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा क्षयरोग राखिएको हो ।

सकृय क्षयरोगको पहिचान गर्न रेडियोलोजी (साधारणतया छातिको एक्सरे), सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रो बायोलोजिकल कल्चर) गर्ने गरिन्छ । त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टिएसटी) वा रगत परीक्षण गरेर निष्कृय क्षयरोगको पहिचान गरिन्छ ।

९१ दशमलव पाँच प्रतिशत बिरामी निको

आर्थिक वर्ष २०७८-७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।

नेपाल सरकारले आगामी आव २०८२-८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८-७९–२०८२-८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत योजना अघि सारेको छ । यस वर्ष ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

 

सम्बन्धित शिर्षक :