तम्घासमा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण

स्वास्थ्यसमाचार /रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो ।

शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् । नगरपालिकाले १० जनालाई म्याद गुज्रेको औषधि वितरण गरेको फेला परेको ती महिलाले बताइन् ।

‘ढाडको समस्या भएर गएको, त्यो औषधि दिनुभएको रहेछ । मैले नानीहरूलाई देखाउँदा त एक्स्पायर परेछ,’ उनले भनिन्, ‘मैले मात्र होइन, गाउँ–गाउँबाट आएकाहरूले त औषधि खानुभए होला ।’ बिक्रीका लागि नभएर फिजिसियनको स्याम्पलका लागि भनेर लेखिएको उक्त औषधिको म्याद जनवरी २०२३ मा सकिएको छ ।

नसासम्बन्धी बिरामीका लागि चलाइने उक्त औषधि लामो समयका लागि दिइने भएकाले म्याद सकिनुभन्दा दुई/चार महिना पहिल्यै वितरण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिविरमा वितरणका लागि नभई चौराहा अस्पतालले स्याम्पलका लागि ल्याएको औषधि भूलवश वितरण भएको बताए । ‘उक्त औषधि बिक्रीका लागि होइन, स्याम्पलका लागि ल्याइएको रहेछ, बाइमिस्टेक यस्तो हुनुमा कम्पनीको लापरबाही देखियो,’ उनले भने।

गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिविरमा औषधी वितरण म्याद सकिएको वितरण गर्नु गलत भएकोले उक्त विषयमा छानबिन गर्नको लागि नगरपालिकालाई आफूले निर्देशन दिएको बताए । पछिल्ला समय नयाँ अस्पताल , तथा मेडिकलहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य शिवरमा नाममा म्याद सकिएका औषधी प्रदान गर्ने पाएको छ ।

सम्बन्धित शिर्षक :