देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा उद्घाटन

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविललाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे ।

अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य वीमा गरेका नगरवासीले वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै पाउने छन् । देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो ।

सेवा शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले स्वास्थ्य वीमाको सेवालाई झन्झटरहित र सहज बनाउनुपर्ने खांचो औंल्याए । स्वास्थ्य वीमा वापत पाउनुपर्ने सेवा लिन वीमाग्राहीले धेरै सास्ती खेप्नुपरेको गुनासो आएकाले सेवा सुधार गर्न सांसद विश्वकर्माले सुझाए ।

देवदह नगरपालिकाका प्रमुख खरेलले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको र ५ वर्षभित्र सबै नगरवासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुख खरेलले घोषणा गरे ।

नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगर अस्पतालमा स्वास्थ्य वीमा लागु हुंदा महिला र बालबालिका लाभान्वित हुने बताइन् । स्वास्थ्य बीमा बोर्ड रुपन्देहीका संयोजक दिलिपमणि पौडेलले तीन तहको संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तह मध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य वीमा गर्ने देवदह पहिलो स्थानीय तह भएको बताए । नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुंदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने उनले बताए ।

सम्बन्धित शिर्षक :