काठमान्डौ/ देशका ७५ जिल्लामा फैलिइसकेको डेंगुले महामारीको रुप लिन सक्ने भएकाले सजगता अपनाउन विज्ञहरुले चेतावनी दिएका छन् ।यो सिजनमा सरकारी अस्पतालमा उपचार वा परीक्षण गर्न आएका ५ हजार २९ जनामा डेंगु पुष्टि भएको र संक्रमित थपिने क्रम जारी रहेकाले सतकर्ता अपाउन विज्ञहरुले चेतावनी दिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार यो तथ्यांक सरकारी अस्पतालको हो । सरकारी अस्पतालको औपचारिक तथ्यांक ५ हजारभन्दा बढी रहे पनि वास्तविक संक्रमित त्योभन्दा पाँच गुणा बढी हुन सक्ने उनले बताए ।
‘निजी अस्पतालमा पुष्टि भएका वा उपचार गराइरहेका विरामीको तथ्यांक रिपोर्टिङ भएको छैन । हामीले उहाँहरुलाई दैनिक यसको तथ्यांक उपलब्ध गराउन परिपत्र गरिसकेका छौं अबको केही दिनमा त्यसको तथ्यांक आउनेछ,’ उनले भने , घरमा नै औषधि खाएर बस्ने व्यक्ति यो तथ्यांकमा समावेश भएका छैनन् । त्यसैले साँच्चै संक्रमित संख्या अहिलेको तथ्यांकभन्दा भयावह हुनसक्छ ।’
उनले अबको दुई महिना अझै डेंगुको जोखिम रहेको बताए । अघिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने सेप्टेम्बर र अक्टोबरमा संक्रमितहरु उच्च बिन्दुमा पुग्ने र नोभेम्बरमा विस्तारै ओरालो लाग्ने उनले बताए ।
नेपालमा डेंगु
सन् २००४ मा नेपालमा डेंगु पहिलो पटक भित्रिएको हो । त्यसयता बर्सेनि निरन्तर संक्रमण बढिरहेको छ । सन् २०१९ मा हालसम्मकै बढी १७ हजार ९९२ जना संक्रमित भएका थिए ।
डेगु संक्रमण रोकथामका लागी हरेक घर परिवार र व्यक्ति नै जागरुक हुनुपर्ने विज्ञको भनाइ छ, जसका लािग आफ्ना घर वरपर पानी जम्न नदिन र वातावरण सफा राख्न उनीहरुको आग्रह छ।
काठमाडौंमा डेंगुको अवस्था
अहिले काठमाडौंमा मात्र १ हजार १८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । तीमध्ये काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन्। महानगरमा कालिमाटी, टेकु, छाउनी, न्युरोड, कोटेश्वर र बागबजारमा संक्रमित धेरै देखिएकाले यो क्षेत्र ‘हटस्टप’ बन्न सक्ने उनले चेतावनी दिए।
काठमाडौंका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी ३९९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा २९ जना, टोखा नगरपालिकामा २३ जना, बुढानिलकण्ठ नगरपालिकामा ११ जना, नागार्जुन नगरपालिकामा ७ जना, किर्तिपुर नगरपालिकामा ४ जना, तारकेश्वर नगरपालिकामा ३ जना संक्रमित पुष्टि भएको छ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा ४ जना, गोकर्णेश्वर नगरपालिकामा ४ जना, दक्षिणकाली नगरपालिकामा २ जना र शंखरापुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौले जनाएको छ।
डेगु रोकथाममा सरकारको प्रयास
देश संघीय संरचनामा आएपछि महामारी रोकथाममा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय तहसँग समन्वय गरेर डेंगु फैलाउने लामखुट्टेको वासस्थान खोजी गरि लार्भा तथा अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए।
डेंगु नियन्त्रणका लागि स्थानीय तहहरुलाई खोज र नष्ट गर्ने कार्यक्रम संचालनका लागि महिला स्वास्थ्य स्वयम्सेविकाको तालीम, जनचेतनामूलक कार्यक्रम, वडास्तरमा अन्तरक्रिया गरेको उनले बताए।
स्वास्थ्य कार्यालयले विभिन्न संघ संस्थाहरुको सहकार्यमा ५० जना तालिमप्राप्त स्वयंसेवक तयार गरी प्रभावित क्षेत्रमा लामखुट्टेका वासस्थान खोज र नष्ट गर्ने कार्यक्रममा खटाइएको उनले जानकारी दिए।
‘एउटा लामखुट्टको पुरा जीवनकाल ३० दिन हुन्छ । एउटा वयस्क लामखुट्टेले ८०० ओटा अण्डा पार्छ,’ उनले भने, ‘लामखुट्टे मार्न किटनाशक औषधिको प्रयोग गरे उडेर अन्तै जाने भएकाले वासस्थान खोज र नष्ट उपाय नै वैज्ञानिक हो ।’ त्यसैले हप्तामा एकपटक लामखुट्टेको वासस्थान खोज र नष्ट गर्ने कार्य निरन्तर २ महिना गर्नुपर्ने उनले स्थानीय तहलाई सुझाए।
अभियान संचालन गर्दा पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, पानी जम्मा गरी राख्ने भाडा आदिमा लामखुट्टेको लार्भा तथा अन्डा पाइने हँुदा उक्त स्थानमा जमेको पानी खाली गर्नुपर्ने जनस्वास्थ्य कार्यालयकी फोकलपर्सन तिव्रता शर्माले जानकारी दिइन्।
प्रत्येक घरबाट हप्ताको कुनै एक दिन निश्चित समय निर्धारण गरी कम्तिमा १ घण्टा आफ्नो घर तथा वरिपरी पानी जमेको स्थानहरुमा रहने लामखुट्टेको लार्भा तथा अन्डा नष्ट गर्न उनले सुझाइन्।
डेंगु भाइरसको कारणले हुन्छ । एडिस एजेप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु हुन्छ । यो जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्छ। एउटा स्वस्थ लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो संक्रमण सर्ने गर्दछ ।
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म निरन्तर आइरहन सक्छ ।\
लक्षणहरु
उच्च ज्वरो आउनु,
असाध्यै टाउको दुख्नु,
आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
शरीरमा विमिरा आउनु।
वाक्वाकी लाग्ने, बान्ता हुने हुनु,
पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने,
बेहोस हुने
रोकथामका उपाय
पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकका बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ।
पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ। सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
प्रतिकया दिनुहोस्