रुपन्देहीमा डेंगुका बिरामी बढे सचेतना कार्यक्रम गर्न बजेट अभाब

स्वास्थ्यसमाचार रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् ।

यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ ।लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताए ।

रुपन्देहीका हरेक ल्याबहरुमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ तर यसका बिरामी कति बढे भन्ने आधिकारिक तथ्यांक राख्ने कुनै संयन्त्र बलियो छैन । स्वास्थ्यकर्मी ज्ञवालीका अनुसार डेंगुका लक्षण देखिएर परीक्षण गराएका र यसको उपचार गराएको संख्या निकै ठूलो छ तर सरकारी अस्पतालमै यसको तथ्यांक सबै नभएपनि निजी अस्पताल र क्लिनिकमा उपचार भएको एकिन तथ्यांक आउन संभव नै छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालको तथ्यांकअनुसार केही दिनयता एक सय २२ जनामा डेंगु रोग देखिएको छ । जाँच गराएकामध्ये ८ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण भएकामध्ये दश जनाभन्दा बढी रक्तकोषिका कम भएका बिरामीहरू अस्पतालमा भर्ना भई उपचाररत छन् ।

वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा संकलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्विनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा नेत्र रानाले बताए ।

’डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमको कमी भएको पाइएको छ’, उनले भने, ’सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्छ, दिनदिनै यसका बिरामीको चाप बढेको छ ।’ उनले विपन्न वर्गलाई स्थानीय सरकारले किटानासक झुल वितरण कार्यक्रम गर्नुपर्ने बताए ।टोल समितिमार्फत् वडाका बस्ती बस्तीमा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।

उनले सवारीसाधनहरू मर्मत गर्ने बुटवल–२ स्थित मैनावगर क्षेत्रमा सुरुमै कार्यक्रमलाई केन्द्रित गरिएको बताए । एसी चलाउने सित्तल ठाउँमा डेंगु फैलाउने लामखुट्टे बढी देखिएको उनको भनाइ छ ।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयसँग बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नपाएको तर सबै स्थानीय सरकारलाई यस बारेमा सचेतना गराई कार्यक्रम गर्नका लागि आग्रह गरिएको बताए ।

उनले भने,‘अहिले हामीसँग बजेट नै हुँदैन, समन्वय गर्ने काम गरिरहेका छौं, प्राविधिक पक्षबाट गर्ने काम हामी गर्छौ तत्काल सचेतना र लामखुट्टेको खोजी तथा नष्ट अभियान चलाउने भनेर सबैलाई तयारी गर्न भनेका छौं ।’ ‘अहिले डेंगुको बढी हुने समय हो, यो समयमा सबै सचेत हुनुपर्दछ’– ढकालले भने ।

 

डेंगुका लक्षणहरु

–ज्वरो आउने,

–आँखाको गेडीहरु दुख्ने,

– शरीरमा डाबरहरु आउने,

– खाना नरुच्ने,

–जोर्नी तथा मांसपेसीहरु दुख्ने,

– पेट गडबडी हुने,

डेगुका बिरामीले यस्तो कुरामा ध्यान दिनुस्

–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,

–झोलिलो खानेकुरा खाने,

–झुलको प्रयोग गर्ने,

–लामो बाहुला भएको कपडा लगाउने,

–घर वरपरको वातावरणमा पानी जम्न नदिने,

– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,

–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।

सम्बन्धित शिर्षक :