राप्ती घोषणा पत्र : लुम्बिनी प्रदेशको स्वास्थ्य सुधारको नयाँ खाका

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशले आगामी वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित ‘राप्ती घोषणा पत्र २०८२’ सार्वजनिक गरेको छ।
दाङको राप्ती उपत्यकामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको अन्त्यमा प्रदेश सरकारद्वारा जारी गरिएको यस घोषणा पत्रले प्रदेशको स्वास्थ्य प्रणालीलाई जनमैत्री, गुणस्तरीय र दिगो बनाउन ठोस मार्गचित्र प्रस्तुत गरेको छ।

“स्वस्थ मानव पूँजीयुक्त समृद्ध प्रदेश : खुशी नागरिक” भन्ने नारासहित ल्याइएको यस घोषणामा मातृ तथा शिशु स्वास्थ्य, कुपोषण नियन्त्रण, नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य सुदृढीकरणलाई प्रमुख प्राथमिकता दिइएको छ।

नीतिगत प्रतिबद्धता र सुधारका योजना

घोषणा पत्रका १६ बुँदाहरूमा स्वास्थ्यकर्मीहरूको तलब र पदमा समानता, अस्पतालहरूको सुदृढीकरण, सुरक्षित मातृत्व सेवा विस्तार, र निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजनाहरू समावेश छन्।

प्रदेश सरकारका अनुसार अब सबै स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको तलब स्केल अनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। सामुदायिक अस्पतालहरूमा समेत सो व्यवस्था विस्तार गरिनेछ।

यस्तै, बिरामीको चाप र जनसंख्या घनत्वका आधारमा अस्पतालमा जनशक्ति पुनःव्यवस्थापन गरिनेछ। वित्तीय र मानव स्रोत व्यवस्थापन सुदृढ गर्न कार्यविधि तयार पारिने बताइएको छ।

सुरक्षित मातृत्व र शिशु स्वास्थ्यमा जोड

घोषणाले ‘ANC देखि PNC सम्म निरन्तर हेरचाह (continuum of care)’ प्रणालीलाई स्थानीय तहसँगको सहकार्यमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

गर्भिणी महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा विस्तार, परिवार स्वास्थ्य प्रोफाइल (Family Health Profile) कार्यक्रम सञ्चालन र नवजात शिशुको जन्म दर्ता प्रणाली (BRMS) लागू गर्ने तयारी पनि समावेश छ।यसैगरी, मातृ तथा नवजात मृत्यु दर घटाउने उद्देश्यका साथ मातृ–शिशु स्वास्थ्य सूचकका आधारमा अस्पतालमा पाइलट कार्यक्रम सञ्चालन गरिनेछ।

आयुर्वेद र वैकल्पिक चिकित्सा विस्तार

लुम्बिनी प्रदेशको परम्परागत चिकित्सा प्रणालीलाई मजबुत बनाउने लक्ष्यका साथ, घोषणा पत्रले सबै स्थानीय तहमा स्वर्णविन्दु प्राशन कार्यक्रम विस्तार गर्ने उल्लेख गरेको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालयलाई पञ्चकर्म प्रशिक्षण केन्द्रका रूपमा सञ्चालन गर्ने र नि:शुल्क आयुर्वेद औषधि सेवा विस्तार गर्ने योजना पनि घोषणा गरिएको छ।

डिजिटल स्वास्थ्य प्रणाली र नयाँ प्रविधि

प्रदेशका रोल्पा, अर्घाखाँची, भालुबाङ र प्युठानका अस्पतालमा पूर्ण इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली लागू गरिनेछ। त्यससँगै, स्थानीय तहका स्वास्थ्य संस्था र आयुर्वेद अस्पतालमा पनि इलेक्ट्रोनिक स्वास्थ्य सूचना प्रणाली (eHMIS/eAHMIS) विस्तार गरिने उल्लेख छ।यी प्रविधिगत सुधारहरूले सेवा पारदर्शी, छिटो र नतिजामुखी बनाउने विश्वास गरिएको छ।

मानसिक स्वास्थ्य र नसर्ने रोगमा पहल

घोषणाले मानसिक स्वास्थ्यलाई प्रदेशको प्रमुख स्वास्थ्य चुनौतीका रूपमा सम्बोधन गरेको छ।मनोसामाजिक परामर्श सेवा, परामर्शदाताको क्षमता अभिवृद्धि र मानसिक स्वास्थ्य उपचार केन्द्र सुदृढीकरणको कार्यक्रम अघि सारिएको छ।त्यस्तै, ३० वर्ष माथिका ५ लाख जनसंख्याको रक्तचाप, मधुमेह र मृगौला परीक्षण अभियान सञ्चालन गरिनेछ।

पोषण र जनस्वास्थ्यमैत्री शासन

बालबालिकाको पोषण अवस्था मापनका लागि प्रदेशव्यापी पोषण सर्वेक्षण सञ्चालन हुने छ।अस्पतालहरूमा ‘Healthy Nutrition’ परामर्श कक्ष र Audio-Visual सन्देश प्रणाली स्थापना गरिनेछ। स्थानीय तहसँग सहकार्यमा जनस्वास्थ्यमैत्री स्थानीय शासन कार्यक्रम सुरु गरिने नीतिगत तयारी गरिएको छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले “राप्ती घोषणा पत्रले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई दीगो, समावेशी र नागरिकमैत्री बनाउने दिशामा मार्गनिर्देशन गरेको वताउनु भयो । उहाले अब हाम्रो लक्ष्य गुणस्तरीय स्वास्थ्य सेवा सबैका ढोकामा पुर्‍याउनु हो” भन्नु भयो ।

राप्ती घोषणा पत्र


सम्बन्धित शिर्षक :