मेडिकल कलेज र निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

स्वास्थ्यसमाचार सरकारले आर्थिक वर्ष २०७९/ ०८० बाट स्वास्थ्य बिमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमा अन्तर्गतको सेवा बन्द गरेका छन् ।

स्वास्थ्य बिमा बोर्डले देशभरका ४८ निजी अस्पतालसँग स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने सम्झौता गरेको छ । वजेट वक्तव्यमार्फत सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र बिमाअन्र्तगतको सेवा प्रदान गर्ने विषय तयारी बिनाको कार्यक्रम भएको र यसले बिमाको लक्ष्यअनुसारको कभरेज गर्न नसक्ने भन्दै बिमा बोर्डले नेपाल सरकारलाई झण्डै दुई हप्ता अघि पत्र पठाएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बताउँछन् ।

‘हामीले बिमा ऐन नियमावली र नियमअनुसार नै सम्झौता गरेर निजी अस्पतालहरुसँग पनि बिमा कार्यक्रम संचालन गरिरहेका छौं,’ उनले भने, ‘अहिले नै तयारी बिना निजी अस्पतालहरुबाट बिमा कार्यक्रम रोक्यो भने हाम्रो लक्ष्य पुग्न गाह्रो छ ।’उनले बजेटमा आएको कुरा संसदबाट पास भएको र सो ऐन सो सरह नै हुने हुँदा त्यस विषयमा बिमा बोर्डले बोल्न नसक्ने बताए । ‘अस्पतालहरुले हामीलाई के गर्ने भनेर सोधिरहनुभएको छ । कतिपयले बजेटमा सरकारी र सामुदायिक अस्पतालमा मात्र बिमा संचालन हुने भनिएको हुँदा बन्द गरेको भनेर सूचना निकाल्नुभएको छ,’ उनले भने, ‘संसदबाटै पास भएको विषयमा हामीले केही बोल्न सकिरहेका छैनौं ।

’बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बजेट वक्तव्यमा आएको विषयलाई लिएर सरोकारवाला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी मागेता पनि त्यसको जवाफ आइनसकेको बताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले यस विषयमा छलफल भइरहेकाले एक—दुई दिनमा नै टुंगोमा पुग्ने बताए । स्वास्थ्य सेवाजस्तो संवेदनशील विषयमा यति लामो समयसम्म पनि निर्णय नहुँदा सेवाग्राहीमा परेको असरको जिम्मेवार को भन्ने मन्त्री खापुङले अहिले नै ठूलो समस्या नभएको तर चाडै यसको निक्र्यौल गर्ने बताए ।

‘अहिले नै त्यति ठूलो समस्या पर्छ भन्ने लाग्दैन्,’ उनले भने, ‘कानुनी र व्यवहारिक दुवै जटिलता छन् । छलफल गरेर आज भोलिमा नै निष्कर्ष आउँछ ।’ पुरानो ३ अर्ब १९ करोड भुक्तानी गर्न बाँकी बिमा बोर्डले आर्थिक वर्ष २०७८÷७९ र त्यो भन्दा पहिलेको गरी ३ अर्ब १९ करोड रुपैयाँ सेवा प्रदान गरेवापत अस्पतालहरुलाई भुक्तानी गर्न बाँकी छ । बोर्डका सूचना अधिकारी शम्भप्रसाद ज्ञवालीका अनुसार ठूला मेडिकल कलेजहरु र केही प्रतिष्ठानहरुको ठूलो पैसा भुक्तानी गर्न बाँकी रहेको बताए ।

अस्पतालहरुले गरेको दाबीका आधारमा त्यसलाई प्रामाणीकरण गरी त्यही अनुपातमा रकम निकासा गर्ने बोर्डको नियमअनुसार निकासा हुँदा धेरै बिरामी जाने अस्पतालहरुको ठूलो रकम बाँकी रहेको उनले बताए । उनले अघिल्ला वर्षको ३ अर्बभन्दा बढी रकम तिर्नुपर्दा यस ०७८/०७९ को रकम बाँकी रहेको जानकारी दिए । बोर्डले यस आर्थिक वर्षदेखि दावी प्रमाणीकरण भएको प्रत्येक महिनाको रकम सेवा प्रदायकलाई पठाउने प्रणाली विकास गरेको उनको दावी छ ।

सम्बन्धित शिर्षक :