यी दुई तरिकाबाट पत्ता लगाउन सकिन्छ मंकीपक्स संक्रमण

काठमाडौं/मंकीपक्स भाइरस युएईसहित २० देशमा फैलिइसकेको छ। कोरोना भाइरसपछि यसले विश्वभर महामारीको रुप लिनसक्ने आशंका व्यक्त गरिँदैछ। यहीबीच अनुसन्धानकर्ताहरु यसको उपचार र परीक्षणमाथि अनुसन्धान गरिरहेका छन्।

हालै ल्यान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार मंकीपक्स भाइरस रगत तथा घाँटीको स्वाब परीक्षणबाट पत्ता लगाउन सक्ने उल्लेख छ। यस्तै, यो भाइरसमा एन्टिभाइरल औषधिले पनि काम गर्नसक्ने जनाइएको छ।

दि ल्यान्सेट इन्फेक्सियस डिजिज जर्नलमा मंगलबार प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार अफ्रिकाबाहिरका अस्पतालमा देखिएका संक्रमणबारे अध्ययन गरिएको थियो। जसमा संक्रमितको उपचारका लागि दुई एन्टिभाइरल औषधिहरु ब्रिनसीडोफोभिर र टोकोभिरिम्याटको पहिलो ‘अफ लेभल’ उपयोग गर्दा बिरामीमा देखिएका प्रतिक्रियाबारे पनि उल्लेख गरिएको छ।

अनुसन्धानअनुसार मंकीपक्स भाइरसको संक्रमण नियन्त्रण र उपचार रणनीति अहिलेसम्म तय भएको छैन।

अमेरिका र युराेपमा अलर्ट

मंकीपक्स भाइरसको संक्रमण फेला परेपछि अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, अस्ट्रेलियालगायतका मुलुकमा ‘अलर्ट’ जारी गरिएको छ। यो भाइरसलाई हालसम्म पश्चिमी अफ्रिकाका केही क्षेत्रमा ‘इण्डेमिक’ को रुपमा लिइने गरिएको थियो। अब अन्य मुलुकमा समेत यसका संक्रमितहरु भेटिन थालेपछि अलर्ट जारी गर्न थालिएको हो।

सुरुमा अफ्रिका भ्रमणबाट फर्किएकाहरुमा यो भाइरस देखा परेको थियो। तर पछिल्लो समय अफ्रिका नगएका मानिसमा पनि संक्रमण देखा पर्न थालेकाे छ। यद्यपि स्वास्थ्य अधिकारीहरुले यसको खतरा कम नै रहेको बताएका छन्।

बेलायतमा गत ७ मेमा पहिलोपटक नाइजेरियाबाट फर्केका व्यक्तिमा मंकीपक्स रहेको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका थिए। बेलायतको स्वास्थ्य सुरक्षा निकायले मंकीपक्सका बिरामीहरु बढ्दै जाँदा समलैंगिक र यौन सम्बन्ध राख्ने समलिंगी समुदायलाई सचेत गराएको छ। निकायले यदि आफू र आफ्नो यौन साथीको शरीरमा अस्वाभाविक रुपमा रातो धब्बा देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा जान आग्रह गरेको छ।

के हुन् लक्षण?
पहिलोपटक सन् १९५८मा पत्ता लगाइएको यो रोग एक खालको जुनोसिस अर्थात् जनावरबाट सर्ने भाइरसका कारण हुने संक्रमण हो। यो अफ्रिकाका जंगली जनावरमार्फत् मानिसमा सरेको थियो।

कुनै संक्रमित जनावरले टोक्दा, उसको रगत या शरीरको तरल पदार्थलाई छुँदा या संक्रमित जनावरको मासु खाँदा यो संक्रमण हुने बताइएको छ। सामान्य यो रोगमा ज्वरो, शरीरमा डाबरहरु देखिने, लिम्फ नोड्स सुन्निने, टाउको दुख्ने, थकावट हुनेजस्ता लक्षण देखापर्छन्। यद्यपि संक्रमित भएको १४ देखि २१ दिनमा यो आफैं ठीक हुने बताइन्छ। तर घाउ चिलाउने वा दुख्ने भने भइरहन सक्छ। यो भाइरस संक्रमितसंँगको सम्पर्कबाट घाउ, श्वास तथा आँखा, नाक र मुखमार्फत् शरीरमा प्रवेश गर्नसक्छ।

सन् २०१७ को सेम्टेम्बरदेखि २०२२ को अप्रिलसम्म पश्चिमी अफ्रिकी मुलुकमा ५५८ संदिग्ध बिरामी देखिएका थिए। जसमा २४१ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ जनाको मृत्यु भएको थियो।हेल्थपोष्टबाट ।

सम्बन्धित शिर्षक :