८ महिनामा एउटै पनि तयार भएन होल्डिङ सेन्टर :बेलहियामा ठेक्का नै तोडियो

स्वास्थ्यसमाचार/ सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन ।

सरकारले मुलुकका खुला गरिएका १३ सीमा नाकामध्ये धेरै आवतजावत हुने ८ नाकामा होल्डिङ सेन्टर बनाउन नेपाली सेनालाई गत १३ वैशाखमा नै जिम्मा दिएको थियो । जसअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

तर, निर्णय भएको आठ महिनामा समेत काम पूरा नहुँदा र संक्रमण बढ्दा नाका हुँदै आएकालाई व्यवस्थापन गर्न असहज बनेको हो । निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने पहिले जग्गा प्राप्तिमा नै समस्या उत्पन्न भएको र पछि वजेट निकासामा ढिलाइ हुँदा समयमा काम सक्न असहज भएको दाबी गरेको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले निर्णय भएपछि जग्गा खोजिएको र जग्गा प्राप्त भएपछि बजेट समयमा निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिएका हुन् । अहिले भने सेनाले थप बजेट माग गरेर निर्माण कम्पनीसँग आपसी समझदारी गर्दै धमाधम निर्माणको काम गरिरहेको छ ।

पछिल्ला केही दिनयता सीमा नाकामा कोरोना परीक्षणका लागि गरिएको एन्टिजेन परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि अधुरा होल्डिङ सेन्टरलाई पूर्णता दिने काम धमाधम भइरहेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वीरगन्ज नाकामा होल्डिङ सेन्टर निर्माणको काम धमाधम जारी रहेको जानकारी दिए ।

प्रदेश २ को भारततर्फबाट आउने सबैभन्दा ठूलो नाका वीरगन्ज नाका हो । सो नाकामा चार सय बेडको होल्डिङ सेन्टर तयारी हुँदै छ भने थप ६ सय बेडको निर्माण कार्य धमाधम छ । वीरगन्जमा निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणको काम गरिरहेको छ । बुधबार सुदूरपश्चिमका विभिन्न पाँच नाका गड्डाचौकी, झुलाघाट, गौरीफन्टा, पुलघाट र जोलाजिमी नाकामा गरी १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका नाकामध्ये सबैभन्दा बढी संक्रमित सुदूरपश्चिमका नाकामा नै देखिँदै आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार मात्रै सीमा नाकाका चेक प्वाइन्टमा गरिएको परीक्षणमा २ सय ४३ जनालाई संक्रमण पुष्टि भएको थियो । सीमा नाकामा होल्डिङ सेन्टरको निर्माण पूरा नहुँदा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएकालाई समेत धमाधम आफन्तको जिम्मा लगाएर सिधै घर पठाउने गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहियामा होल्डिङ सेन्टर बनाउने काम नै सुरु हुनसकेको छैन । सेनाले सो स्थानमा जग्गा नपाएकाले होल्डिङ सेन्टर बनाउन नसकिएको जनाएको छ ।सो स्थानमा होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का लगाए पनि रद्द गरेको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले होल्डिङ सेन्टर नहुँदा बेलहिया नाका हुँदै आएका र संक्रमण पुष्टि भएकालाई आफन्तको रोहबरमा सिधै घर पठाउने गरिएको जानकारी दिए । कैलालीको भारतीय सीमा नाका गौरीफन्टा भएर आउने संक्रमितलाई राख्न हनुमान कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिका–३ मा होल्डिङ सेन्टर निर्माण गरिरहेको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि धमाधम होल्डिङ सेन्टर निर्माणको काम जारी छ । मोरङमा पर्ने सीमा नाका रानी भन्सार हुँदै आएकालाई राख्न होल्डिङ सेन्टर बन्दै गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । यसैगरी झापाको काँकडभिट्टामा पनि होल्डिङ सेन्टर निर्माणको काम धमाधम छ ।राजधानीदैनीकबाट

सम्बन्धित शिर्षक :