थप व्यवस्थित बन्दै जिल्लाको पुरानो भीम अस्पताल भैरहवा

स्वास्थ्यसमाचार/ कुनै बेला सरकारी अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने गर्दथे । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोच बिरामी र उनीहरुको आफन्तमा थियो । उनीहरु कि त निजी स्वास्थ्य संस्थामा जान्थे, कि भैरहवा बाहिर बुटवल, चितवन, काठमाण्डौं लगायतका ठूला शहरमा जान्थे । त्यसमा पनि भैरहवाको भीम अस्पताल भनेपछि त सकेसम्म भित्रै छिर्न खाज्दैनथे ।

भैरहवाको केन्द्र भागमा भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ डाक्टरको अभावमा राम्रो उपचार हुन नसक्ने भएपछि बिरामीहरु अस्पताल भित्र प्रवेश गर्न डराएका हुन् ।तर, रुपन्देही जिल्लाको पुरानो अस्पतालको रुपमा रहको भैरहवास्थित भीम अस्पताल दशकौ पछि अहिले भने यो अस्पताल सबैको रोजाइमा परेको छ । विशेषज्ञ डाक्टरसहितको उपचारमा गुणस्तरीय सेवा वृद्धि भएपछि अहिले सबैको रोजाइमा परेको छ ।

समयक्रमसंगै भीम अस्पतालको मुहार फेरिदै गएको छ । विशेष गरी यो अस्पताल प्रदेश सरकार मातहत आएपछि यसको स्तरोन्नति र विकासमा थप काम भएपछि अहिले अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएको हो ।

संघीयता कार्यान्यवनको सुरुवातसंगै लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको पुरानोमध्यको यो अस्पतालका लागि विभिन्न योजनाहरु अघि सारेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल रुपन्देहीको सदरमुकाम भैरहवामा छ । विशेष गरी मध्यम र विपन्न वर्गका नागरिकका लागि यो अस्पताल बरदान सावित भएको छ । अहिले भैरहवाबासीका लागि मात्रै नभइ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित जिल्लाका विभिन्न क्षेत्र, नवलपरासी, कपिलवस्तुका लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बिरामी पनि उपचारको लागि यहाँ आउने गरेका छन् ।

गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएसंगै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । सुरुवाती चरणमै अस्पतालले कोरोना संक्रमितको उपचारमा उल्लेखनीय भूमिका खेलेको थियो । पहिलो चरणको कोभिड संक्रमितको उपचारमा अस्पतालले राम्रै गरी प्रदेशमा नाम कमाएको थियो ।

कोरोना संक्रमितलाई निको बनाएर उनीहरुको मन जित्न सफल भएको थियो भीम अस्पताल । अस्पतालबाट उपचार पाएर संक्रमितहरु कोरोनामुक्त भएपछि घर फर्कन लाग्दा नाचगान गरी खुशीयाली नै मनाएका थिए ।दोस्रो चरणको कोभिड–१९ र निमोनियाबाट ग्रस्त भइ उपचारका लागि भीम अस्पताल पुगेका सिद्धार्थनगर–७ का विष्णु अधिकारीले भीम अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए ।

‘कोरोना संक्रमणसंगै निमोनिया भएको अवस्थामा अस्पताल प्रशासन, डाक्टर तथा नर्सहरुको व्यवहार, उपचार र हौसलाले १३ दिनै परास्त गरेर गर फर्किन पाए, उनले भने यो समयमा उहाँहरुले गरेको सेवाप्रति म सधै ऋणी छु, ’उनले भने । उपचार गुणस्तरीय भएका कारण भीम अस्पतालमा अहिले आफू जस्तै थुपै्र बिरामी उपचारपछि निको भएर घर फर्किएको उनको भनाई छ ।

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएपछि विभिन्न चुनौतीहरु थपिए । वैशाखको पहिलो हप्ता कोरोना संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पतालाई व्यवस्थापन गर्न केही समय कठिन पनि भयो । तर अस्पताल व्यवस्थापन र प्रशासन आफ्नो कामबाट विचलित भएन ।

अस्पतालमा २०७७ भदौ १० गते मेडिकल सुपरिटेण्डेण्टको रुपमा डा.शकुन्तला गुप्ता आइन् । आफू आएपछि अस्पतालमा विभिन्न सुधारको प्रयास गरेको डा. गुप्ता बताउँछिन् । अहिले अस्पतालमा २४ घण्टे एक्स–रे मेशिन सेवा, व्यवस्थित फार्मेसी, ओपिडी, आइसीयू बेड, सुविधायुक्त ल्याब, डेन्टल सेवा, खोप, फिजियोथेरापी, मातृ शिशु स्वास्थ्य सेवा, पाठेघरको टयुमरको अपरेशन, लगायतको सेवा उपलब्ध रहेको उनले बताइन् ।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको उनको भनाइ छ । प्लान्टबाट अक्सिजन उत्पादन गरेर विक्री गर्ने योजना रहेको उनले बताइन् । कोभिड–१९ महामारीमा अस्पतालको क्षमता भन्दा बढी बिरामीको उपचार गरिएको उनले बताइन् । ‘विगतमा सरकारी अस्पताल आउन नखोज्ने बिरामीको रोजाई पनि भीम अस्पताल बन्ने गरेको छ, यो सकारात्मक कुरा हो, ’उनले भनिन् ।

विरामी कुरुवाको लागि प्रतिक्षालय निर्माण भइरहेको उनको भनाइ छ । सर्पले टोकेका बिरामीको उपचारका लागि नन–कोभिड आइसीयूको व्यवस्था रहेको बताइन् । लीलाराम कुन्तीदेवी न्यौपाने स्मृति प्रतिष्ठानले २५ शैयाको आकस्मिक कक्ष (इमरजेन्सी भवन) निर्माण गरेको र जसका कारण बिरामीको उपचारमा थप सहज भएको उनले बताइन् । कोरोना महामारीको पहिलो लहरमा १०५ र दोस्रो दरमा ४५१ जनाको उपचार गरिएको उनले बताइन् ।

अस्पतालमा कोरोनाविरुद्धको खोप निरन्तर सञ्चालन भइरहेको उनले बताइन् । ५० शैयाको अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति आवश्यक छ, जसले अस्पताल सञ्चालन गर्न सहज हुने उनले बताइन् । भएको सेवालाई अझ गुणस्तरीय बनाउँदै व्यवस्थित गर्दै लगेको छौं, उनले भनिन् । एकैपटक सबै कुरा परिवर्तन हुन नसके पनि व्यवस्थित गर्दै लगेको डा. गुप्ताले बताइन् ।

‘पहिलो लहरमा त्यत्ति ग्राहो भएन, म भदौमा अस्पतालमा हाजिर हुँदा यहाँको अवस्था राम्रै थियो, तर दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि केही समस्या उत्पन्न भयो,’ अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भनिन् ।

डा. गुप्ताका अनुुसार दोस्रो लहर सुरु भएपछि अस्पतालाई तीन वटा कुराको व्यवस्थापन गर्न समस्या भयो, बेड, अक्सिजन र जनशक्ति । पहिलो लहरमा अस्पतालमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई घर जान खासै समस्या नभए पनि दोस्रो लहरमा संक्रमणको दर बढेपछि घर जान समस्या नै भयो ।
स्वास्थ्यकर्मीलाई कहाँ राख्ने, कहाँ बास र खानाको व्यवस्था गर्ने चुनौति थपिएकोले प्रशासन कार्यालयसंग समन्वय गरी उहाँहरुको व्यवस्थापन गरिएको डा. गुप्ताले बताइन् । अस्पतालमा आएका अधिकांश बिरामीहरुलाई अक्सिजनको आवश्यकता भएपछि अक्सिजन पाउन समेत ग्राहो भएको उनले बताइन् ।

‘संक्रमितले अक्सिजन नपाए आधा घण्टामै बिरामीको ज्यान जान्छ भनेर राती १२ बजे, ३ बजे पनि फोन आउँथ्यो, वास्तवमा पीडादायी अवस्था थियो,’उनले भनिन् तर हामीले अनेकन प्रयास गरेर समस्याको समाधान गरेरै छाड्थ्यौ । थुप्रै सिकिस्त बिरामी एकैपटक आउने र उहाँहरुलाई आइसीयू र भेन्टिलेटर चाहिने भए पनि अस्पतालमा ४–५ वटा मात्रै आइसीयू/भेन्टिलेटर रहेकाले केही समय उपचारमा निकै असहज अवस्था आएको उनको भोगाइ छ ।

‘अस्पताल पुगेका बिरामी र बिरामी कुरुवाले बेड नपाए पनि बाहिरै बस्छौं, यही उपचार हुनुपर्छ, तर घर जाँदैनौ भनेपछि उहाँहरु यही बस्नुभयो,’ उनले भनिन् यसले आफूहरुमा सकारात्मक उर्जा थपिएको र उपचारमा थप हौसला पनि बढ्यो र त्यही अनुरुप काम गर्यौं ।स्थानियहरुपनि अहिले अस्पतालमा उपचार देखी सबै सहज हुदै गएको बताउछन ।

सम्बन्धित शिर्षक :