५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज

स्वास्थ्यसमाचार/सरकारले लक्षित जनसंख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज दिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड १९ को भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञ प्राडा रमेशकान्त अधिकारीले भने–‘जबसम्म लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीलाई आवश्यक दुई मात्राको खोप पुर्‍याउन सकिँदैन तबसम्म बुस्टर दिन सकिँदैन ।’

उनका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठनले ुबुस्टर डोजुका लागि पहिला जुन खोप लगाएको हो त्यही लगाउनुपर्ने सिफारिस गरेको छ ।समितका सदस्य डा गणेशकुमार राईले खोपको उपलब्धता बढेको खण्डमा र भण्डारण गर्न सकिएमा बुस्टर डोज छिट्दै दिइने बताए । ‘हाम्रो अहिलेको मुख्य नीति भनेको पहिलो डोज हरेक जनसमुदायमा पुर्‍याउने हो । ८५ देखि ९० प्रतिशतलाई पहिलो डोज लगाएमा कमसेकम केही प्रतिशत भएतापनि रोग सँग बचाउँछ त्यसपछि दोस्रो डोज र बुस्टर डोज भन्ने हो,’ उनले भने ।

हालसम्म नेपालमा लक्षित जनसंख्याको ५८/४ प्रतिशतले एक मात्राको खोप लगाइसकेका छन् भने ४७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । सरकारले आगामी पुस ४ देखि १४ गतेसम्म १२ देखि १७ उमेर समूहका बालबालिकालाई ५७ जिल्लामा मोर्डना खोप दिने भएको छ । यसका लागि सरकारले ३६ लाख ५१ हजार २०० मात्रा खोप छुट्याएको छ । बाँकी २० जिल्लामा भने फाइजर खोप दिइनेछ ।

ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले करिब ७० मुलुकमा ओमिक्रोन भेरिएन्ट देखिएपनि डेल्टा भेरिएन्ट नै हावी रहेको बताए । उनका अनुसार सरकारले दुई हप्ता अगाडि बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डको सहयोगमा ७५० वटा नमुना बेलायत पठाएकोमा ६९५ वटाको सिक्वेन्सिङ गर्दा डेल्टा भेरिएन्ट पाइएको बताए ।

उनले जुनसुकै भेरिएन्ट आएपनि सतर्क रही जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप लगाउन छुटेकाले पायक पर्ने खोप केन्द्रमा गइ खोप लगाउन आग्रह गरे ।हाल नेपालमा कोरोना संक्रमण दर १७/४ प्रतिशत रहेको छ । मनाङ, डोल्पा, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् ।त्यसैगरी २०० देखि ४९९ सम्म संक्रमित रहेका जिल्ला सुनसरी, भक्तपुर, कास्की , बाँके र कैलाली गरी ५ वटा रहेका छन् । काठमाडौँ र ललितपुरमा भने ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक :