लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या मन्त्रालय दाङमा उद्घाटन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटनसँगै सेवा सुरु भएको छ ।

बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारूले उद्घाटन गरेसँगै मन्त्रालयको नियमित सेवा सुरु भएको छ ।मन्त्रालयले पूर्ण रूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अव छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थाई राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारूले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउँदै स्वास्थ्य सेवामा मध्यकालिक तथा दीर्घकालीन रणनीतिका साथ काम भै रहेको बताए । उनले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको व्यवस्थाको लागि पहल गरिरहेको समेत बताए ।

मुख्य कार्यालय उद्घाटनमा बोल्दै राज्य मन्त्री विमला कुमारी खत्रीले स्थाई राजधानीमा मन्त्रालयको काम सुरु भएसँगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताइन् । मन्त्रालयको मुख्य कार्यालय उद्घाटनमा बोल्दै सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए ।

निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्ण रुपमा सेवा दिन तयार बनाइने बताए । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय लागि रहेको देवकोटाले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरूले स्थाई राजधानीका लागि सबै कुरा जोखिममा राखेर सहयोग गरेको तर सुस्त सुस्त राजधानीको मेलो सर्दै गरेको बताए ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

सम्बन्धित शिर्षक :