रोहिणी गाउँपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन

जेष्ठ नागरिक, अति अपाङ्ग एवम् स्वास्थ्य स्वयम सेविकाको निःशुल्क बीमा

स्वास्थ्यसमाचार/  नागरिकको स्वास्थ्य बीमामा सहजीकरण गर्ने उद्देश्य सहित रोहिणी गाउँपालिकामा स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएको छ । स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिति सञ्चालन कार्यविधि २०७८ लागु भए पछि देशमै पहिलो समिति गठन गरिएको गाउँपालिकाको दावी छ ।

स्थानिय तहमा स्वास्थ्य बीमा सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने लगायतको कार्य गर्नको लागी समिति गठन गरिएको हो । कार्यविधिमा ब्यवस्था भए अनुसार रोहिण गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

समितिको सदस्यहरुमा वडा अध्यक्षहरुको तर्फबाट बिर बहादुर थापा, महिला स्वास्थ्य स्वयम सेविकाहरुको तर्फबाट पद्मा थापा, सेवा प्रदायक संस्थाका तर्फबाट चन्द्रिका यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र राम प्रसाद ढकाल रहेका छन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत न्यौपाने सदस्य सचिवको जिम्मेवारीमा रहने छन् ।

गाउँपालिकामा रहेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैको लागी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य सहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जनाए । यसले रोहिणी गाउँपालिकाका जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालीन लक्ष्य राखिएको उनले बताए । यादवले गाउँपालिकामा बिभिन्न चेतनामूलक कार्यक्रम मार्फत समुदायका समूहहरुलाई सक्रिय सहभागी गराउने जनाए ।

“गरिब तथा न्यून आय भएका वर्गलाई बिशेष संरक्षण गर्दै सार्वजनिक तथा निजि स्वास्थ्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सहकार्यमा स्वास्थ्य बीमाको नितिलाई बिस्तार गर्ने योजना रहेको छ ।” यादवले भने रोहिणी गाउँपालिकामा रहेका ५ जना सम्म सदस्य रहेको परिवारमा ३ हजार ५ सयको दरले परिवारकै बर्षभरिको स्वास्थ्य बीमा गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

५ जना भन्दा बढी सदस्य रहेको परिवारमा प्रति सदस्य बराबर थप ७ सय रुपैया तिर्नु पर्नेछ । स्वास्थ्य बीमाले ५ जना सम्म सदस्य रहेको परिवारलाई १ लाख बराबरको औषधीय सेवा पाउने र ५ जना माथीका सदस्यको हकमा प्रति सदस्य थप २० हजार बराबरको अधिकतम २ लाख सम्मको सेवा प्राप्त हुने उनले जानकारी दिए ।

उनले गाउँपालिकामा रहेका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिक, एवम क वर्गको परिचय पत्र प्राप्त अपाङ्गहरुलाई निशुल्क बीमा गरिने बताए । यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुको हकमा ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत गाउँपालिकाले तिर्ने गरि निशुल्क बीमा गरिने न्यौपानेले जानकारी दिए ।
स्वास्थ्य सेवा उपयोगमा आउन सक्ने आर्थिक अवरोध हटाएर स्वास्थ्य सेवामा मूलतः गरिब तथा सीमान्तकृत जनता र लक्षित वर्गको पहुँच र समता अभिवृद्धि गर्न गाउँपालिकाले पहल थालेको उनले बताए ।

स्वास्थ्य बीमाले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भई रहेको ब्यक्तिगत खर्चलाई ब्यवस्थित गर्ने र अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट समेत बचाउन सहयोग गर्ने न्यौपानेको भनाई छ । न्यौपानेले अहिले स्वास्थ्य बीमा दर्ता सुरु भै सकेको जनाए । उनले बैशाख, जेठ र असार महिनामा गराएको स्वास्थ्य बीमाको सेवा भदौ १ गते बाट सुरु हुने र अर्को बर्षको साउन मसान्त सम्म यसको म्याद रहने जनाए ।

यस्तै साउन, भदौ र असोज महिनामा गरिएको बीमाको अवधि मंसिर १ गते बाट सुरु भई अर्को बर्षको कार्तिक मसान्त सम्म रहने छ । कार्तिक, मंसिर र पुसमा गरिएको बीमा फागुनको १ गतेबाट सुरु भई अर्को बर्षको माघ मसान्त रहनेछ । माघ, फागुन र चैतमा गरिएको बीमा अर्को बर्षको जेठ १ गते मात्र सुरु हुने र सोही बर्षको बैशाख मसान्त सम्म मात्र रहने छ ।

स्वास्थ्य बीमाले अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बचाउने भएकोले गाउँपालिकाले सबै नागरिकलाई यो अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।

सम्बन्धित शिर्षक :