भीम अस्पतालको अक्सिजन प्लान्ट स्वास्थ्यमन्त्री थारुद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको एक कार्यक्रमकाबीच बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिकस्तरबाटै हामी आफै अक्सिजन प्लान्ट स्थापना गर्छौं भन्ने भनाइ आएको बताए । उनले स्थानीय तहहबाट जनताको दबाबमा आवश्यकता अनुसार आफै प्लान्ट स्थापना गर्छौं भन्ने स्तरसम्म छलफल चलेको बताए ।

मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए । ‘सम्भावित तेस्रो लहरसंग जुध्न अक्सिजन प्लान्ट महत्वपूर्ण बन्नेछ, यसलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्छ, ’उनले भने । प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुशीको कुरा भएको बताइन् ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रुपन्देही जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित कार्य भइरहेको बताए । उनले अस्पतालमा १७ करोडको लगानीमा अत्याधुनिक प्रसुती गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको बताए

पीडी इञ्जिनियरिङ प्रा.लि. काठमाडौंका प्रबन्ध निर्देशक धर्म पौडेलले टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्ट अस्पतालमा स्थापना गरिएको बताए । उनले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता रहेको बताए ।अस्पतालका मेसु डा सकुन्तला गुप्ताले अब अस्पतालमा अक्सिजन उत्पादन हुने भएपछि उपचारमा सहज हुने बताईन ।

 

सम्बन्धित शिर्षक :