पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै

सुरक्षित रहँदै बाल स्वास्थ्यको सुरक्षाका लागि खोप

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ ।

बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ ।

बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । यी सबै निःशुल्क छन् र गुणस्तरयुक्त पनि ।

बुटवलमै खोप भण्डारण केन्द्र सञ्चालन गरेको उपमहानगरपालिकाले बाल स्वास्थ्यलाई हेक्का राख्दै पीपीइ लगाएका स्वास्थ्यकर्मीमार्फत खोप कार्यक्रम सुरु गरेपछि यस्को प्रसंसा भएको छ । खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीइ सहितका स्वास्थ्यकर्मीहरु पालो बाँडेर खटिएका छन् ।

उनीहरुलाई प्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्र्याइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह निर्देशन दिएका छन् । उपमहानगरमा रहेका र पीपीई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीहरुलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए ।

विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला बुटवलले नियमित सुरुआत गरेर सकारात्मक कामको थालनी गरेको छ ।

‘रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रवन्ध मिलाएर भएपनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’ प्रमुख सुवेदीको भनाइ छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।

जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजी देखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा बैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरि कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ । पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरि समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।

बीसीजी, पेन्टा, ओपीभी, एफआइपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

बुटवलमा हाल वर्षभरिमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

यस्ता छन् बालबालिकामा लगाइने नियमति खोप

१.बीसीजी – यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ । महामारी फैलिएपछि विश्वमा नेपालले लगाइरहेको यहीँ खोपका बारेमा अहिले खुबै चर्चा भइरहेको छ ।

२.डि.पि.टी, हेपाटाइटिस बी, एचआइभी- यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

३.पीभीसी – यो खोप जन्मीएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यो खोप तीन पटक दिइन्छ । यसले निमोनियाबाट बचाउँछ ।

४.पोलियो- पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माईलाइटिसबाट जोगाउँछ ।

५.दादुरा रुबेला- यो खोप जन्मिएको ९ महिना देखि एक वर्ष भित्रको उम्मेरमा दिइन्छ । यसले बालबालिकालाई दादुरा, रुबेलाबाट जोगाउँछ ।

६. टीडी–टीटी-यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।

७. जे.ई- यो खोप १२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

सम्बन्धित शिर्षक :