तिलोत्तमामा स्वास्थ्य जोखिम बढाउने गतिविधिमा रोक, पराल जलाउन र सडकमा थ्रेसर चलाउन निषेध

स्वास्थ्यसमाचार/खेतमा पराल जलाउने र सार्वजनिक सडकमा थ्रेसर चलाउने कार्य रोक्न तिलोत्तमा नगरपालिकाले चेतावनी दिएको छ। यस्ता गतिविधिले वायु प्रदूषण बढाउनुका साथै नागरिकको श्वासप्रश्वास र सडक सुरक्षामा जोखिम निम्त्याउने भन्दै नगरपालिकाले अटेर गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ।

नगरप्रमुख रामकृष्ण खाणले सार्वजनिक सूचना जारी गर्दै सडक, फुटपाथ तथा सडकको अधिकारक्षेत्रभित्र थ्रेसर राखेर धान झार्ने कार्य नगर्न निर्देशन दिनुभएको छ। थ्रेसिङ निजी खेत वा सुरक्षित स्थानमा मात्र गर्नुपर्ने सूचनामा उल्लेख छ।

धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउँदा निस्कने धुवाँमा रहेका मसिना कण र अन्य प्रदूषकले श्वासप्रश्वास प्रणालीमा असर पार्न सक्छन्। यस्तो धुवाँको सम्पर्कमा आउँदा आँखा पोल्ने, घाँटी खसखसाउने, खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ।

दम तथा फोक्सोसम्बन्धी रोग भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्न सक्छन्। लामो समयसम्म प्रदूषित हावाको सम्पर्कमा रहँदा मुटु तथा फोक्सोसम्बन्धी रोगको जोखिमसमेत बढ्न सक्छ।

त्यस्तै, सडकमा थ्रेसर चलाउँदा उड्ने धुलो र धानका अवशेषले यात्रु तथा सडकछेउका बासिन्दालाई असर पार्न सक्छन्। धुलोले आँखा र श्वासप्रश्वासमा समस्या निम्त्याउनुका साथै सडकमा दृश्यता घट्दा दुर्घटनाको जोखिम पनि बढ्न सक्छ। सडकमा मेसिन राखेर धान झार्दा सवारी आवागमनसमेत अवरुद्ध हुने गरेको छ।

नगरपालिकाले पराल जलाउनुको सट्टा कम्पोस्ट मल बनाउन, पशु आहारका रूपमा प्रयोग गर्न वा अन्य उपयोगी काममा लगाउन कृषकलाई आग्रह गरेको छ।

सार्वजनिक सूचनाको अवज्ञा गरी सडकमा थ्रेसर चलाउने वा पराल जलाउनेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ। वातावरण प्रदूषण नियन्त्रण, नागरिकको स्वास्थ्य संरक्षण र सडक सुरक्षाका लागि निर्देशन पालना गर्न कृषक तथा थ्रेसर व्यवसायीलाई आग्रह गरिएको छ।

Screenshot

सम्बन्धित शिर्षक :