काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ। थपिएका सिटमध्ये एमबीबीएसतर्फ सरकारी शिक्षण संस्थामा मात्रै सिट वृद्धि गरिएको छ भने निजी मेडिकल कलेजको सिट सङ्ख्या यथावत् राखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले चालु शैक्षिक सत्रका लागि विभिन्न चिकित्सा शिक्षा कार्यक्रमतर्फ कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। यो सङ्ख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो।
आयोगका सदस्य सचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएस कार्यक्रममा गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।
निरौलाका अनुसार निजी मेडिकल कलेजमा भने यस वर्ष एमबीबीएसतर्फ सिट वृद्धि गरिएको छैन। एमबीबीएसमा थपिएका सिट सरकारी शिक्षण संस्थाका लागि मात्रै निर्धारण गरिएको उनले बताए।
एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सिट पनि बढाइएको छ। बीएससी नर्सिङतर्फ गत शैक्षिक सत्रको तुलनामा २१० र बीएमएस कार्यक्रममा ९८ सिट थप गरिएको आयोगले जनाएको छ।
सिट निर्धारणका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। अनुगमन टोलीको प्रतिवेदनका आधारमा तीमध्ये ८४ शिक्षण संस्थाको सिट निर्धारण गरिएको आयोगले जनाएको छ।
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा सिट थपिएसँगै विद्यार्थीका लागि अध्ययनको अवसर विस्तार हुने देखिएको छ।
विशेषगरी एमबीबीएसमा सरकारी शिक्षण संस्थाको सिट वृद्धि गर्ने निर्णयले सरकारी संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर बढाएको छ। निजी मेडिकल कलेजको सिट भने यस वर्ष यथावत् रहेको छ।



प्रतिकया दिनुहोस्