भोटेकोशी बाढीको वितण्डा : रसुवाका ८ स्वास्थ्यकर्मी बेपत्ता, ४ स्वास्थ्य संस्था ध्वस्त

स्वास्थ्यसमाचार/ रसुवाको भोटेकोशीमा गत १० गते आएको विनाशकारी बाढीमा परि त्यस जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यतर ८ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।

हराएकामध्ये तीन जना स्वास्थ्यकर्मीहरुसंग संगै रहेको श्रीमती र बच्चाको पनि अत्तोपत्तो नभएको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

वेपत्ता भएकाहरुमा गोसाइकुण्ड गाउँपालिका अन्तर्गतको स्वाफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहरा, उनकी श्रीमती र आठ महिनाको छोरी पनि हराइरहेका छन् ।

यस्तै सोही पालिका अन्तर्गत टिमुरे स्वास्थ्य चौकीमा कार्यरत सरिता मल्ल र उनको तीन महिनाको छोरा पनि वेपत्ता भएका छन् । यस्तै सोही स्वास्थ्य चौकीमा कार्यरत सुस्मिता पाण्डे र उनका तीन वर्षको छोरा वेपत्ता भएका छन् ।

टिमुरे स्वास्थ्य चौकीमा कार्यरत हिस्सि घले पनि बाढी पछि बेपत्ता भएका छन् । यता दाहालफेदी सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत बिजय घले पनि हराई रहेका छन् । यस्तै रसुवा गढी हेल्थ डेस्कमा कार्यरत गोविन्द यादव, उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलराम न्यौपाने र त्यहि कार्यरत अर्का स्वास्थ्यकर्मी प्रदीप न्यौपाने पनि हराई रहेको बताइएको छ ।

बाढीमा क्षतिग्रस्त स्वास्थ्य संस्थाको विवरण

जनस्वास्थ्य कार्यालय रसुवाका अनुसार १० भदौको बाढीमा परि गोसाईकुण्ड गाउँपालिका -५ स्थित स्वाफ्रुबेसी स्वास्थ्य चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

यस्तै गोसाईकुण्ड -२ को टिमुरे स्वास्थ्य चौकी, रसुवागढी हेल्थ डेस्क पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।उत्तरगया गाउँपालिकाको मैलुङ सामुदायिक स्वास्थ्य ईकाई पनि ध्वस्त भएको छ ।

बाढी पछि नियमित खाने औषधी र काउन्सिलिङको जरुरी

बाढी पछि स्वास्थ्य सेवा विभागबाट रसुवाका लागि खटाइएका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. प्रकाश ज्ञवालीका अनुसार अहिले बाढीका गम्भीर घाइते त्यहाँ नभए पनि मनोपरामर्श धेरै आवश्यक रहेको बताए ।

‘आँखै अगाडी परिवार तथा आफन्त बगेका छन् । वेपत्ता भएका छन् । घरबार बगेको अवस्था छ । त्यसैले धेरै मानसिक ट्रमामा हुनुहुन्छ । उहाँहरुलाई मनोपरामर्श आवश्यक छ । हामी छौं है भनेर ढाडस दिने व्यक्ति, संस्था सरकारको पनि आवश्यक छ,’ उनले भने ।

‘बाढीमा परेका धेरै हराएका छन्, बाढी पर्नु अघि भाग्दै गर्दा घाइते भएका गम्भीर खालकालाई काठमाडौँ रिफर भएको छ, सामान्यहरुको धुन्चे अस्पतालमा उपचार भई डिस्चार्ज भईसकेको अवस्था छ,’ उनले भने ।

डा. ज्ञवालीले उद्दार गरी आएका बुढाबुढी नियमित औषधी खानुपर्ने दीर्घ रोगीहरुको औषधीको आपूर्ति तत्कालका लागि आवश्यक भएको साथै महामारी फैलन सक्ने भएकोले त्यस तर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता भएको बताए ।

सम्बन्धित शिर्षक :