स्वास्थ्यसमाचार/ रसुवालगायतका जिल्लामा आएको बाढीमा परी मृत्यु भएकाहरूका शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याउन थालेपछि अस्पतालको शवगृहले धान्न नसक्ने अवस्था भएको छ। एकैपटक ठूलो संख्यामा शव आउन थालेपछि अस्पतालले वैकल्पिक व्यवस्थामार्फत शव सुरक्षित राख्न थालेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार अस्पतालमा हालसम्म १९ वटा शव ल्याइएको छ। तीमध्ये एक शवको पोस्टमार्टम पूरा भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए।
‘अहिले शवको संख्या बढ्दै गएको छ। मर्चरीको क्षमताले धान्न नसक्ने अवस्था भएपछि उपलब्ध स्रोतसाधन प्रयोग गरेर शव व्यवस्थापन गरिरहेका छौँ,’ डा. गौतमले भने, ‘पहिचान र पोस्टमार्टमको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।’
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रेम गौतमले मर्चरीमा शव राख्ने ठाउँ नपुगेपछि अस्पतालले वैकल्पिक रूपमा फलामका बाकस बनाएर त्यसमा बरफ राखी शव सुरक्षित राखिरहेको बताए।
‘मर्चरीले धान्न नसकेपछि अस्पतालले फलामका बाकस बनाएर त्यसमा बरफ राखेर शव व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘गर्मीको समयमा शव बिग्रिने जोखिम बढी हुने भएकाले तत्कालका लागि बरफको प्रयोग गरेर सुरक्षित राख्ने व्यवस्था मिलाएका छौँ।’
बाढीका कारण अस्पतालमा शव आउने क्रम अझै बढ्न सक्ने भएकाले थप व्यवस्थापन आवश्यक देखिएको प्रेम गौतमले बताए। उपलब्ध स्थान र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै शव सुरक्षित राख्ने प्रयास भइरहेको उनको भनाइ छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सक भए पनि उनी हाल बिदामा रहेकाले बाहिरबाट चिकित्सक बोलाएर पोस्टमार्टमको व्यवस्था मिलाउनुपरेको गौतमले बताए। यसले शव परीक्षण व्यवस्थापनमा थप चुनौती थपिएको उनले जानकारी दिए।
उनका अनुसार कोरोना महामारी, भूकम्पलगायतका विपद्का समयमा पनि अस्पतालले ठूलो संख्यामा शव व्यवस्थापनको चुनौती सामना गरेको थियो। तर अहिले बाढीका कारण छोटो समयमै धेरै शव आउन थालेपछि मर्चरीको क्षमता अपर्याप्त भएको उनले बताए।
बाढीमा परी मृत्यु भएकाहरूका शव विभिन्न स्थानबाट फेला पर्ने क्रम जारी रहेकाले पहिचान र पोस्टमार्टमको कामसमेत चुनौतीपूर्ण बनेको छ। अस्पतालले पहिचान खुलेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्ने तथा पहिचान हुन नसकेका शवलाई सुरक्षित राख्ने व्यवस्था मिलाइरहेको जनाएको छ।
शवको पहिचानका लागि प्रहरीसँग समन्वय गरी आवश्यक विवरण संकलन गर्ने काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ। बाढीका कारण मृत्यु भएका व्यक्तिका आफन्त सम्पर्कमा आएपछि आवश्यक प्रमाणका आधारमा शव पहिचान गरी जिम्मा लगाउने प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।
बाढी प्रभावित जिल्लाबाट शव फेला पर्ने क्रम जारी रहेकाले अस्पतालमा आउने शवको संख्या बढ्न सक्ने र यस्तो अवस्थामा शवको सुरक्षित भण्डारणसँगै समयमै पोस्टमार्टम तथा पहिचानको काम अघि बढाउनु अस्पतालका लागि मुख्य चुनौती बनेको डा. गौतमले बताए।
प्राथमिकतामा सग्लो शवको पहिचान
बाढीमा बगेर आएका सबै शव एउटै अवस्थामा छैनन्। केही शव चिन्न सकिने अवस्थामा छन् भने केही लामो समय पानीमा रहँदा कुहिन थालेका वा क्षतविक्षत अवस्थामा भेटिएका छन्। त्यसैले लुम्बिनी प्रादेशिक अस्पतालले तत्काल सग्लो अवस्थामा रहेका र पहिचान गर्न सकिने शवलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार पहिला सग्लो अवस्थामा भेटिएका र पहिचान गर्न सकिने शवको प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।
‘पहिले सग्लो भेटिएकामध्ये पहिचान हुनसक्ने शवको काम गरिरहेका छौं,’ डा. गौतमले भने, ‘पहिचान भएका शव आफन्तलाई बुझाउन सके उनीहरूले अन्तिम संस्कार गर्न सक्छन्।’
अस्पतालमा शवको पोस्टमार्टमसँगै पहिचानका लागि आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ। शवको फोटो तथा भिडियो खिच्ने, औंठाछाप लिने तथा शरीरमा रहेका विशेष पहिचान चिह्न अभिलेख गर्ने कामसमेत भइरहेको अस्पतालले जनाएको छ।
शवको अवस्था हेरेर पहिचानको प्रक्रिया फरक हुने चिकित्सकहरू बताउँछन्। अनुहारबाट पहिचान गर्न सकिने शवमा बाहिरी स्वरूप, कपडा तथा शरीरमा रहेका चोटपटक र अन्य विशेषताका आधारमा विवरण अभिलेख गरिन्छ। पहिचान गर्न कठिन शवमा औंठाछाप, दाँतको परीक्षण तथा आवश्यक परे डीएनए परीक्षणसमेत गरिन्छ।
मृत्युको कारण स्पष्ट देखिएको अवस्थामा प्रत्येक शव अनिवार्य रूपमा चिरेर परीक्षण गर्नुपर्ने नहुने चिकित्सकहरूको भनाइ छ। पोस्टमार्टममा शवको बाहिरी अवस्था, शरीरका विशेषता तथा मृत्युको प्रकृतिसम्बन्धी विवरण अभिलेख गर्नु पनि महत्वपूर्ण हुन्छ।
शरीरमा पहिले उपचारका क्रममा राखिएका प्लेट, रड, प्रोस्थेसिस वा अन्य धातुजन्य सामग्रीसमेत पहिचानका आधार बन्न सक्छन्। पुरानो चोटपटक वा शल्यक्रियासम्बन्धी विवरण आफन्तबाट प्राप्त भए त्यस्ता प्रमाणलाई शवको पहिचानसँग मिलाउन सकिन्छ।
लामो समय पानीमा रहँदा कुहिएको वा क्षतविक्षत भएका शव भने हेरेर मात्र पहिचान गर्न कठिन हुने भएकाले त्यस्ता शवमा औंठाछाप, दाँत तथा अन्तिम विकल्पका रूपमा डीएनए परीक्षणको सहारा लिनुपर्ने हुन्छ। पहिचान पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ।


प्रतिकया दिनुहोस्