स्वास्थ्यसमाचार/ स्वास्थ्य बिमा बोर्ड र सैनामैना नगरपालिका बीच स्वास्थ्य बिमा सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै सैनामैना आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सञ्चालन गर्ने बाटो खुलेको छ।
स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयका तर्फबाट कार्यकारी निर्देशक शकुन्तला प्रजापति र डा. पवनकुमार शाह तथा सैनामैना नगरपालिकाका तर्फबाट लेखा अधिकृत शिव अर्याल र अस्पताल प्रमुख जङ्गबहादुर सुनारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सैनामैना आधारभूत अस्पतालबाट आगामी भदौ १५ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गर्ने तयारी गरिएको छ। सेवा सञ्चालनअघि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने, सफ्टवेयर जडान तथा सञ्चालनसम्बन्धी प्राविधिक तयारी पूरा गरिने अस्पतालले जनाएको छ।
स्वास्थ्य बिमा सेवा सुरु भएपछि बिमित नागरिकले सैनामैना आधारभूत अस्पतालबाटै बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। अस्पतालबाट उपलब्ध हुने सेवा विस्तार गर्दै औषधि उपचार तथा थप उपचारका लागि अनावश्यक रूपमा अन्यत्र जान नपर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जनाइएको छ।
सैनामैना नगरपालिकाका लेखा अधिकृत शिव अर्यालले स्वास्थ्य बिमा सेवा सञ्चालन तथा अस्पतालको सेवा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८३-८४ का लागि संघीय सरकारबाट अस्पताल सञ्चालन खर्चबापत ८० लाख रुपैयाँ र सैनामैना नगरपालिकाबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सैनामैना नगरपालिकाका वडा अध्यक्ष रामप्रसाद अधिकारीले स्वास्थ्य बिमा सेवा सञ्चालन हुनु सैनामैनावासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “अब स्वास्थ्य बिमा गरेका नागरिकले आफ्नै नगरभित्र रहेको आधारभूत अस्पतालबाट सेवा पाउने वातावरण बनेको छ।
यसले उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता घटाउनुका साथै नागरिकको समय र खर्चसमेत बचत हुनेछ।” स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि सम्झौता भएसँगै सैनामैनावासीमा उत्साह थपिएको छ।



प्रतिकया दिनुहोस्