स्वास्थ्यसमाचार/ पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा परिचित भेरी अस्पताल स्थापना भएको १३६ वर्ष पूरा भएको छ । लामो इतिहास बोकेको यो अस्पतालले तीनवटा प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि राजनीतिक उपेक्षाका कारण यसले अपेक्षित गति लिन सकेको थिएन
। हाल अस्पतालको प्रशासनिक नेतृत्व सम्हालेका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले सुशासनलाई मूल मन्त्र बनाएर विभिन्न सुधारका कामहरू अगाडि बढाएका छन्।यसै बिषयमा स्वास्थ्यसमाचारका लागी गरिएको कुराकानीकामा आधारीत रहेको छ ।
सुशासन र प्रशासनिक सुधारमा पहिलो प्राथमिकता
मेसुको जिम्मेवारी सम्हालेलगत्तै डा. दर्नालले अस्पतालको सेवालाई सुशासनसँग जोड्दै दैनिक रूपमा ‘मर्निङ कन्फ्रेन्स’ सुरु गरेका छन्। बिहानको समयमा हुने यो आधा घण्टे बैठकमार्फत २४ घण्टाभित्र अस्पतालमा आएका बिरामीका समस्या र स्वास्थ्यकर्मीका कठिनाइहरू तत्काल हल गर्ने व्यवस्था मिलाइएको छ।
बिरामीका गुनासो र समाधानका पहलहरू
अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले गुनासो व्यवस्थापनका लागि छुट्टै समिति र अधिकारीको व्यवस्था गरिएको छ। बिरामीबाट आउने मुख्य गुनासोहरूमध्ये बीमाको औषधि नपाउने समस्या समाधानका लागि खरिद इकाइ र मूल्याङ्कन इकाइ गठन गरी टेन्डर प्रक्रिया अघाइएको छ।
यस्तै, ओपिडी सेवालाई सहज बनाउन टिकट काट्ने समय बिहान ९–१२ बजेबाट बढाएर बिहान ८ देखि अपराह्न ४ बजेसम्म पुर्याइएको छ। ओपिडी टिकटको समय थपिएसँगै सेवाग्राहीलाई लामो समय लाइन बस्नुपर्ने बाध्यतामा केही राहत मिलेको छ।
फार्मेसी, बीमा र विशेषज्ञ चिकित्सकको चुनौती
चिकित्सकले लेखेका औषधि ब्रान्डको नाममा नपाउने तर जेनेरिक नाममा पाइने समस्यालाई चिर्न नयाँ आर्थिक वर्षबाट विभागीय प्रमुखहरूसँग समन्वय गरी प्रभावकारी रणनीति बनाइएको छ। राष्ट्रिय स्तरकै समस्याको रूपमा रहेको स्वास्थ्य बीमाको भुक्तानी असार मसान्तमै प्राप्त भएकाले आगामी दिनमा बीमाका औषधि खरिद तथा व्यवस्थापनमा थप सहजता आउने विश्वास गरिएको छ।
वीर अस्पतालको जस्तो शैक्षिक गतिविधि नहुँदा सुपरस्पेसियालिटी चिकित्सक र विशेष गरी रेडियोलोजिस्ट पाउन मुस्किल भए पनि मन्त्रालयबाट छात्रवृत्तिमा विज्ञ चिकित्सकहरू आउने तयारी भइरहेको छ।
सेवा विस्तार र प्रविधिमैत्री अस्पताल
लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान मेसिन मर्मत गरी केही दिनमै सञ्चालनमा ल्याइँदैछ। शल्यक्रियाका लागि महिनौं कुरिरहनुपर्ने बिरामीको बाध्यता हटाउन अपरेसन थिएटर र ल्याप्रोस्कोपिक सर्जरीका उपकरणहरू थप गर्ने योजना छ। साथै, न्यूरो सेवालाई पनि निरन्तरता दिने तयारी भइरहेको छ।
अस्पताललाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन अनलाइन टिकट प्रणालीसँगै प्रयोगशाला (ल्याब) रिपोर्ट लिन लाग्ने लामो लाइन हटाउन ‘रिपोर्ट भेन्डिङ मेसिन’ सञ्चालनमा ल्याइने भएको छ, जसबाट बिरामीले एटीएमबाट पैसा निकाले झैं सजिलै रिपोर्ट लिन सक्नेछन्।
व्यवहारमा सुधार र स्वास्थ्यकर्मीको सुरक्षा
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको कम्युनिकेसन स्किल सुधार्न विभिन्न विभागहरूमा सफ्ट स्किल र कम्युनिकेसन तालिमहरू सञ्चालन गरिएका छन्। बिरामी पीडामा हुने भएकाले उनीहरूसँग संयमित भएर बोल्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिएको छ भने सेवाग्राहीले पनि सीमित साधनस्रोतका बीच काम गरिरहेका स्वास्थ्यकर्मी प्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ।
उपचारका क्रममा कुनैपनि अप्रिय घटना भएमा कानुनबमोजिम उपचार खोज्नुपर्ने तर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने कार्य किमार्थ उचित नहुने मेसु डा. दर्नालको भनाइ छ।



प्रतिकया दिनुहोस्