स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगरस्थित बाल सुधार गृहमा रहेका आश्रितहरूमा क्षयरोग (TB) को जोखिमलाई मध्यनजर गर्दै विशेष स्क्रिनिङ तथा परीक्षण अभियान सम्पन्न भएको छ। गत असार ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा ५८ जनाको विस्तृत परीक्षण गर्दा ७ जनामा सुसुप्त क्षयरोग (Latent TB) फेला परेको छ।
स्वास्थ्य कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र रुपन्देही बाल सुधार गृहको संयुक्त सहकार्य तथा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) को आर्थिक एवं प्राविधिक सहयोगमा यो स्वास्थ्य अभियान चलाइएको हो।
अभियान अन्तर्गत सुधार गृहमा रहेका ५८ जनाकै क्षयरोग स्क्रिनिङ, एक्स-रे (X-ray) तथा ल्याटेन्ट टीबी टेस्ट (Latent TB Testing) गरिएको थियो। परीक्षणका क्रममा रोगको लक्षण नदेखिएका तर भित्रभित्रै संक्रमण रहेका (सुसुप्त) ७ जना बिरामीको पहिचान गरी तत्कालै भीम अस्पतालको डट्स (DOTS) केन्द्रमार्फत उपचार प्रक्रियामा दर्ता गरिएको छ।
कार्यक्रमबारे प्रकाश पार्दै बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) नेपालका परियोजना संयोजक गोविन्द माझीले बाल सुधार गृह जस्ता बन्द वातावरणमा क्षयरोगको जोखिम सामान्य समुदायको तुलनामा निकै धेरै हुने बताउनुभयो।
“विशेष गरी लक्षण नदेखिने सुसुप्त क्षयरोग (Latent TB Infection – LTBI) को समयमै पहिचान र उपचार नगरेसम्म यो जुनसुकै बेला सक्रिय क्षयरोगमा परिणत हुन सक्छ,” संयोजक माझीले भन्नुभयो, “यदि यसलाई बेलैमा नरोक्ने हो भने यसले भित्रभित्रै ठूलो सार्वजनिक स्वास्थ्य संकट निम्त्याउँछ। त्यसैले यस्ता संवेदनशील ठाउँमा ल्याटेन्ट टीबीको स्क्रिनिङ र निदान अत्यन्तै महत्त्वपूर्ण हुन्छ।”
बाल सुधार गृहमा गरिएको यस किसिमको स्क्रिनिङ र समयमै गरिएको निदानले भविष्यमा हुन सक्ने सक्रिय टीबीको दरलाई रोक्ने, संक्रमणको चक्र (Circle of Infection) तोड्ने र त्यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा समग्र समुदायलाई नै सुरक्षित राख्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
सहभागी स्वास्थ्यकर्मीहरूका अनुसार सुधार गृह जस्ता घना र बन्द प्रकृतिका संरचनाहरूमा नियमित रूपमा टीबी जाँच, समयमै उपचार र निरन्तर जनचेतनाका कार्यक्रमहरू अनिवार्य रूपमा सञ्चालन गरिनु आवश्यक देखिएको छ।


प्रतिकया दिनुहोस्