स्वास्थ्यसमाचार/ रुपन्देही तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दबन आधारभूत नगर अस्पताल स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निरन्तर सेवा विस्तार गर्दै आएको छ।
साविकको आनन्दबन स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको यस अस्पतालले छोटो समयमै तिलोत्तमावासीका लागि भरोसायोग्य स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ।
विगतमा सामान्य उपचारदेखि भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण तथा अन्य स्वास्थ्य सेवाका लागि बुटवलका ठूला अस्पताल धाउनुपर्ने बाध्यता रहे पनि अहिले अधिकांश आधारभूत स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध हुन थालेका छन्। यसले स्थानीय नागरिकको समय, खर्च र सास्ती उल्लेखनीय रूपमा घटाएको छ।
हाल अस्पतालबाट सामान्य उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, सुरक्षित मातृत्व कार्यक्रम, पोषण सेवा, परिवार नियोजन, नसर्ने रोगको परीक्षण तथा उपचार, प्रयोगशाला सेवा, निःशुल्क भिडियो एक्स–रे, एण्टी–रेभिज खोपलगायतका सेवा नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।इसीजीसहित चिकित्सकीय सेवा तथा आन्तरिक आम्दानीबाट टीटी खोप सेवा समेत प्रदान गर्दै आएको छ।
निर्माणाधीन १५ शैयाको अस्पताल भवन सञ्चालनमा आएपछि स्वास्थ्य बीमा, ईसीजी, विशेषज्ञ चिकित्सक तथा थप आधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
आर्थिक वर्ष २०८२÷८३ को सामाजिक परीक्षण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अस्पतालबाट ९ हजार ६८२ जनाले सेवा लिएका छन्। कुल सेवाग्राही संख्या गत वर्षको तुलनामा सामान्य घटे पनि अधिकांश स्वास्थ्य सेवामा उल्लेखनीय वृद्धि भएको छ।
प्रतिवेदनअनुसार सामान्य उपचार सेवा लिने बिरामीको संख्या ६ हजार २५१ बाट ६ हजार ७८८, पोषण सेवा ५२९ बाट ७३०, परिवार नियोजनका नयाँ प्रयोगकर्ता १२८ बाट १४३, नसर्ने रोगसम्बन्धी सेवा ५४० बाट ६७०, प्रयोगशाला परीक्षण ८०० बाट १ हजार ४० तथा निःशुल्क भिडियो एक्स–रे सेवा १०० बाट १५५ पुगेको छ।
चालु वर्षमा ५८४ जनालाई एण्टी–रेभिज खोप उपलब्ध गराइएको छ भने सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ३२ जना महिलाले निःशुल्क प्रसूति सेवा लिएका छन्। ९१ जना गर्भवती महिलाले चार पटक नियमित गर्भ परीक्षण गराएको प्रतिवेदनमा उल्लेख छ।
अस्पताल प्रमुख रामप्रसाद चुदालीले अस्पतालका लागि १४ कट्ठा जग्गा व्यवस्थापन गरी १५ शैयाको भवन निर्माण भइरहेको जानकारी दिँदै भवन सञ्चालनमा आएपछि विशेषज्ञ सेवा, स्वास्थ्य बीमा, आधुनिक प्रयोगशाला, ईसीजी तथा भिडियो एक्स–रेलगायतका सेवा थप विस्तार गरिने बताए।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले नगर अस्पतालहरूको पूर्वाधार, जनशक्ति र सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको बताए।
निर्माणाधीन अस्पताल सञ्चालनमा आएपछि नागरिकले आफ्नै नगरभित्र गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गरिने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत खुमा भुसालले अस्पतालको संस्थागत सुदृढीकरण, सुशासन र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए।
वडा नं. ६ का अध्यक्ष गणेश पाठकले आनन्दबन आधारभूत नगर अस्पताल यस क्षेत्रका नागरिकको भरोसाको केन्द्र बन्दै गएको उल्लेख गर्दै निर्माणाधीन भवन समयमै सम्पन्न गरी विशेषज्ञ सेवा सञ्चालन गर्न वडा कार्यालयले आवश्यक सहकार्य गरिरहेको बताए।अस्पताल सञ्चालनका लागि आगामी आर्थिक वर्षको आवश्यक बजेटसमेत व्यवस्थापन गरिएको उनले बताएका छन्।
स्थानीय नागरिकले स्वास्थ्य बीमा, विशेषज्ञ चिकित्सक, ईसीजी, आधुनिक प्रयोगशाला तथा भिडियो एक्स–रे सेवा पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले निर्माणाधीन भवन शीघ्र सम्पन्न गरी सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउन आग्रह गरेका छन्।
अस्पताल व्यवस्थापन समितिकी उपाध्यक्ष सीता खनालले अस्पतालका सबल पक्ष, कमजोरी र समुदायका अपेक्षालाई स्पष्ट रूपमा उजागर गरेको बताउँदै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटेर अस्पताललाई अझ पारदर्शी, उत्तरदायी, सेवामैत्री र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरिन्। तिलोत्तमा १७ बटा स्वास्थ्य केन्द्र एउटा आयुर्वेद औषधालय र नगर अस्पताल रहेका छन ।


प्रतिकया दिनुहोस्