आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन प्रभावकारी कार्यान्वयनमा जोड

स्वास्थ्यसमाचार/आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बढ्दो व्यापारिक विज्ञापन, प्रचारप्रसार तथा बिक्री वितरणलाई नियन्त्रण गर्न बनेको कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूले जोड दिएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा सम्पन्न “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ सम्बन्धी बहस–पैरवी कार्यक्रम” मा सहभागी वक्ताहरूले शिशु स्वास्थ्य संरक्षणका लागि कानुनको कडाइका साथ कार्यान्वयन अपरिहार्य रहेको बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले शिशुहरूको प्राकृतिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न ऐन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बजार अनुगमनलाई नियमित र सशक्त बनाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “आमाको दूधको विकल्प कुनै पनि वस्तु हुन सक्दैन, तर बजारमा आउने विभिन्न व्यापारिक उत्पादनहरूले आमाबाबुमा भ्रम सिर्जना गरिरहेका छन्। यस्ता वस्तुको जथाभावी प्रचारप्रसार तथा अवैध बिक्री वितरणलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय पूर्ण रूपमा प्रतिबद्ध छ।”

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS 2022) का तथ्याङ्क प्रस्तुत गर्दै शिशु तथा मातृ स्वास्थ्यको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिएको थियो।

स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी टीकाराम अधिकारीले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा अझै पनि करिब २२ प्रतिशत बालबालिकालाई बोतल (फिडिङ बोतल) बाट दूध खुवाइने गरिएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा ४३ प्रतिशत र लुम्बिनी प्रदेशमा २४ प्रतिशत दर रहेको तथ्याङ्कले देखाएको छ।

रुपन्देहीमा ५२ हजार ८४८ बालबालिकाको पोषण परीक्षण, २ हजार ९१३ मा कुपोषण, तीमध्ये ३१९ जना कडा कुपोषण (Severe Acute Malnutrition) र २ हजार ५२२ जना मध्यम कुपोषण (Moderate Acute Malnutrition) बाट प्रभावित रहेको तथ्यांकले देखाएको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ अधिकृत टीकाराम अधिकारीले बताउनु भयो

त्यस्तै, तथ्याङ्कले शहरी तथा आर्थिक रूपमा सम्पन्न परिवारमा स्तनपानको दर क्रमशः घट्दै गएको र ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारमा स्तनपानको अभ्यास तुलनात्मक रूपमा बढी रहेको देखाएको छ।

कार्यक्रममा परिवार नियोजन अधिकृत प्रवास पन्थीले ‘सुनौला १००० दिन’ अवधारणाबारे विशेष प्रस्तुति दिँदै गर्भावस्था देखि जन्मपछिका दुई वर्षसम्मको समय शिशुको शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले विश्व स्वास्थ्य संगठन (WHO) का तथ्याङ्क उद्धृत गर्दै शिशुको कुल बौद्धिक विकासमध्ये करिब ३० प्रतिशत गर्भावस्थामै, २५ प्रतिशत पहिलो वर्षमा र बाँकी महत्वपूर्ण हिस्सा दोस्रो वर्षभित्र विकसित हुने जानकारी दिनुभयो।

यसका आधारमा गर्भावस्था देखि दुई वर्षसम्मको अवधिमा उचित पोषण, नियमित स्तनपान र विशेष हेरचाहमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई ‘मातृ–शिशु मैत्री सेवा अभियान’ अन्तर्गत सञ्चालन गर्नुपर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको प्रभाव रोक्न अस्पताल तथा स्वास्थ्य संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको छ।

कार्यक्रममा औषधि व्यवसायी संघका पूर्व अध्यक्ष बाबुराम भट्टराई, निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :