शंकरनगर स्वास्थ्य चौकीको सामाजिक परीक्षण: उपलब्धिसँगै चुनौती पनि उजागर

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर स्वास्थ्य चौकीले खोप, सुरक्षित मातृत्व तथा परिवार नियोजन सेवामा लक्ष्यभन्दा राम्रो उपलब्धि हासिल गरे पनि अत्यावश्यक औषधिको अभाव, अधुरो भवन निर्माण, सुरक्षा पूर्वाधारको कमी र जनशक्ति व्यवस्थापनका समस्या भने अझै समाधान हुन नसकेको पाइएको छ।

स्वास्थ्य चौकीको सेवा प्रवाह, पारदर्शिता, वित्तीय अवस्था र नागरिक सन्तुष्टिको समीक्षा गर्न आयोजित सामाजिक परीक्षण (सोसल अडिट) कार्यक्रममा प्रस्तुत प्रतिवेदनले सेवा उपलब्धिका सकारात्मक पक्षसँगै संस्थाले सामना गरिरहेका चुनौतीहरू पनि उजागर गरेको हो।

तिलोत्तमा–२ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख राजेश ज्ञवालीले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सेवा विस्तारका उपलब्धि र विद्यमान समस्याबारे जानकारी गराउनुभयो।

खोप र सुरक्षित मातृत्वमा उल्लेखनीय उपलब्धि

प्रतिवेदनअनुसार स्वास्थ्य चौकीले नियमित खोप कार्यक्रममा निर्धारित लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको छ। बिसिजी खोपतर्फ १४४ जनाको लक्ष्य रहेकामा १५० जना बालबालिकाले खोप प्राप्त गरेका छन्। दादुरा–रुबेला खोपतर्फ १५६ जना बालबालिकालाई सेवा दिइएको छ।

सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ११२ जनाको लक्ष्य रहेकामा १६२ जनाले सेवा लिएको तथ्यांक प्रस्तुत गरिएको छ। परिवार नियोजनतर्फ डिपो तथा इम्प्लान्ट सेवामा स्वास्थ्य चौकीले शतप्रतिशत लक्ष्य पूरा गरेको जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार समुदायमा जनचेतना वृद्धि, नियमित स्वास्थ्य शिक्षा र स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनका कारण मातृ तथा शिशु स्वास्थ्य सेवामा सकारात्मक सुधार देखिएको हो।

औषधि अभावले सेवा प्रभावित

सामाजिक परीक्षणका क्रममा सबैभन्दा बढी उठेको विषय अत्यावश्यक औषधिको अनियमित आपूर्ति थियो। स्वास्थ्य चौकी प्रमुख ज्ञवालीका अनुसार नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने आइरन चक्की, मेट्रोन लगायतका औषधि वर्षमा कम्तीमा एक पटक स्टक आउट हुने गरेका छन्।

एकपटक सकिएपछि पुनः आपूर्ति हुन दुईदेखि तीन महिनासम्म लाग्ने भएकाले सेवाग्राही प्रभावित हुने गरेका छन्। “औषधि नहुँदा सेवाग्राहीलाई निजी औषधि पसलमा पठाउनुपर्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो, “यसले निःशुल्क स्वास्थ्य सेवाको उद्देश्यलाई समेत कमजोर बनाएको छ।”

अधुरो भवन र सुरक्षाको समस्या

स्वास्थ्य चौकीको पुरानो भवन पछाडि निर्माण सुरु गरिएको नयाँ भवन लामो समयदेखि अधुरै रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै स्वास्थ्य चौकी परिसरमा कम्पाउन्ड वाल नहुँदा सुरक्षा जोखिम बढेको, खुला प्रवेशका कारण स्वास्थ्य सामग्रीको संरक्षणमा समस्या देखिएको र सेवा सञ्चालनमा समेत असर परेको जनाइएको छ।

ल्याब कर्मचारीको तलब र खोप केन्द्रमा एसीको आवश्यकता

कार्यक्रममा प्रयोगशालामा कार्यरत कर्मचारीहरूको तलब व्यवस्थापन अझै स्थायी रूपमा हुन नसकेको विषय पनि उठाइएको थियो। स्थानीय स्रोतबाट तलब व्यवस्थापन गर्नुपर्दा दीर्घकालीन समाधान हुन नसकेको सहभागीहरूले बताएका छन्। यस्तै, अत्यधिक गर्मी हुने मौसममा खोपको गुणस्तर सुरक्षित राख्न तथा शिशु र आमालाई सहज वातावरणमा सेवा दिन खोप केन्द्रमा एसी जडान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

‘समस्या समाधानलाई प्राथमिकता दिन्छौं’ : वडा अध्यक्ष
वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर भट्टराईले सामाजिक परीक्षणमा उठेका समस्या समाधान गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्य चौकीले खोप, सुरक्षित मातृत्व र परिवार नियोजन सेवामा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै ल्याब कर्मचारीको तलब व्यवस्थापनलाई प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो।
साथै, रोकिएको भवन निर्माण सम्पन्न गर्न, कम्पाउन्ड वाल निर्माण गर्न तथा खोप केन्द्रमा एसी जडानका लागि आगामी बजेटमा आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

औषधि आपूर्ति र जनशक्ति व्यवस्थापनमा जोड

कार्यक्रममा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूले स्वास्थ्य सेवा प्रभावकारी बनाउन औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने, पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने र निर्माणाधीन पूर्वाधार समयमै सम्पन्न गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

सामाजिक परीक्षण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा पन्थी, व्यवस्थापन समितिका सदस्य डोलबहादुर थापा, पूर्णकला भट्टराई, मञ्जु भुसाल, ध्रुव पाण्डे, सुरज गौतम, डोरबहादुर पुन, वीरभद्र थापा, सीता थापा, भागीरथ पौडेल, माधव ज्ञवालीलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो।

सामाजिक परीक्षण किन आवश्यक ?

स्वास्थ्य मन्त्रालयले प्रत्येक स्वास्थ्य संस्थामा नियमित सामाजिक परीक्षण गर्ने व्यवस्था गरेको छ। यसको उद्देश्य स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवाको गुणस्तर, बजेट खर्च, औषधिको उपलब्धता, जनशक्ति अवस्था तथा सेवाग्राहीको सन्तुष्टिबारे समुदायकै सहभागितामा समीक्षा गर्नु हो।

यस प्रक्रियाबाट सेवा प्रवाह थप पारदर्शी बन्नुका साथै नागरिकले आफ्ना गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसमक्ष राख्न पाउने वातावरण सिर्जना हुन्छ। प्राप्त सुझावका आधारमा आगामी योजना, बजेट तथा सेवा सुधारका कार्यक्रम तय गर्न स्थानीय सरकारलाई सहज हुने विश्वास गरिएको छ। तिलोत्तमा नगरपालिकाको सहयोग तथा रुपन्देही मिडियाको आयोजनामा सामाजीक परिक्षण गरिएको छ ।

सम्बन्धित शिर्षक :