स्वास्थ्यसमाचार/ गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ।
स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यका मुद्दा उजागर गर्दै नागरिकलाई सुसूचित बनाउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पु¥याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान)ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकार घोषणा गर्दै नगद रु. ५१ हजार, सम्मानपत्र तथा अवार्ड प्रदान गरेको हो।
उहाँलाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान तथा डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
ढुङ्गेलले लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ। उहाँका समाचारले रोगको रोकथाम, उपचार सेवा, औषधि व्यवस्थापन, जनस्वास्थ्य, सरकारी स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ उठान गर्दै आएका छन्।
ढुङ्गेलका समाचारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौती उजागर गर्नुका साथै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, नागरिकलाई तथ्यपरक स्वास्थ्य सूचना उपलब्ध गराउन तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सार्वजनिक बहस सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको मूल्यांकन गरेको रोटरीले जानकारी दिएको छ ।
यस वर्षको ‘रोटरी जोर्नो अवार्ड–२०२६’ का लागि सात वटा विधामा देशभरबाट ५० जना पत्रकार प्रतिस्पर्धामा सहभागी भएका थिए। उनीहरूले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित २५७ वटा समाचार सामग्री प्रतियोगितामा समावेश गरेका थिए।
छनोट समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार पत्रकारहरूलाई समाचार सामग्रीको गुणस्तर, विषयवस्तुको गहिराइ, सामाजिक प्रभाव, तथ्यपरकता तथा पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानका आधारमा मूल्यांकन गरी उत्कृष्ट पत्रकार छनोट गरिएको हो।
यस वर्ष मातृ तथा शिशु स्वास्थ्य विधामा उकालोका सागर बुढाथोकी, खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा सुनसरीका पत्रकार विकल रेग्मी, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता विधामा सगरमाथा एफएमकी अर्वशी बस्न्यात, सामुदायिक तथा आर्थिक विकास विधामा पोखराका पत्रकार विजय नेपाल, स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम तथा समाधान विधामा रुपा गहतराज, आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा गोरखाका पत्रकार सुदीप कैनी सम्मानित हुनुभएको छ।
त्यसैगरी, नेपाली पत्रकारितामा दीर्घकालीन योगदानको कदरस्वरूप वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०११ देखि शिक्षा, स्वास्थ्य, वातावरण, शान्ति, खानेपानी, सामुदायिक विकासलगायत विभिन्न सामाजिक क्षेत्रसँग सम्बन्धित उत्कृष्ट पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘रोटरी जोर्नो अवार्ड’ प्रदान गर्दै आएको छ। यस पुरस्कारलाई सामाजिक उत्तरदायित्व र विकास पत्रकारिताको प्रवर्द्धन गर्ने प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ।



प्रतिकया दिनुहोस्