स्वास्थ्यसमाचार/पाणिनि गाउँपालिका–७, अड्गुरी स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा नं. ७ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै सम्पन्न गरिएको छ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति बधाई व्यक्त गर्दै यस अभियानको दिगोपनाका लागि सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य पूर्वाधार विकास, सेवा विस्तार तथा जनस्वास्थ्य सुधारका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि जीवनारायण कोइरालाले यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै जिल्लामा विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रको सुधारलाई पनि विशेष प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो। उहाँले प्राप्त उपलब्धिलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका मन्त्री तुल्सी पौडेल, स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेल, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, जिल्ला समन्वय समिति सदस्य कमलप्रसाद घिमिरे तथा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता अभियानले मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण प्रवर्द्धन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, कर्मचारी, स्थानीयवासी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहलाई थप आकर्षक बनाउन स्थानीय भजन टोली, पञ्चेबाजा समूह तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
अड्गुरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख पुनाराम भुसालले गर्नुभएको थियो।
पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएसँगै अड्गुरीमा मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार तथा सुरक्षित संस्थागत सुत्केरी सेवाको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।



प्रतिकया दिनुहोस्