स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढ्दो देखिएको छ। आर्थिक वर्ष २०८२-८३ मा सञ्चालन गरिएको नसर्ने रोग स्क्रिनिङ कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ६६ हजार १ सय ९७ जनाको परीक्षण गर्दा ४९ प्रतिशतमा प्रि-हाइपरटेन्सन, २३ प्रतिशतमा उच्च रक्तचाप, २५ प्रतिशतमा मधुमेहको जोखिम तथा १४ प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या देखिएको छ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आइतबार रूपन्देहीको तिलोत्तमामा आयोजना गरेको ‘स्वस्थ गाउँ–सहर तथा स्वास्थ्य प्रवद्र्धनका लागि पैरवी कार्यक्रम’ मा प्रस्तुत तथ्यांकअनुसार परीक्षण गरिएकामध्ये ४८ प्रतिशत व्यक्ति बढी तौल वा मोटोपनाबाट प्रभावित छन्। स्वास्थ्यकर्मीहरूले यसलाई प्रदेशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा औंल्याएका छन्।

कार्यक्रममा सहजीकरण गर्दै सैनामैना नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक पाण्डेले नसर्ने रोग नियन्त्रणका लागि स्वस्थ जीवनशैली, नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक रहेको बताए। “अब तीनै तहका सरकारले सर्ने रोगभन्दा नसर्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्छ,” उनले भने।
सरकारी तथ्यांकअनुसार नेपालमा हुने कुल मृत्युको करिब ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको उल्लेख गर्दै उनले स्वास्थ्य अवस्था निर्धारण गर्ने अधिकांश कारक अस्पताल बाहिरका सामाजिक तथा व्यवहारजन्य पक्षसँग सम्बन्धित रहेको बताए।
कार्यक्रममा तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले स्थानीय तहले वातावरण स्वच्छता तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए। समुदाय, स्वास्थ्य संस्था र सरोकारवालाबीच समन्वय गरेर स्वास्थ्य सचेतना बढाउनुपर्ने उनको भनाइ थियो।
स्वास्थ्य कार्यालय रूपन्देहीका नसर्ने रोग फोकल पर्सन खिमलाल पाण्डेले जिल्लामा हालसम्म करिब १ लाख ७ हजार जनाको स्क्रिनिङ सम्पन्न भएको र थप १ लाख १३ हजार जनाको परीक्षण गर्ने लक्ष्य रहेको जानकारी दिए।
उनले प्रदेशभर सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रमको लक्ष्य ५ लाख जनासम्म पुग्ने रहेकोमा हालसम्म ९३.२४ प्रतिशत प्रगति भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
तथ्यांकअनुसार रक्तचाप परीक्षण गरिएकामध्ये करिब ७२ प्रतिशतमा सामान्यभन्दा माथिको रक्तचाप देखिएको छ। त्यस्तै, प्रत्येक चार जनामध्ये एक जनामा मधुमेहको जोखिम तथा १४ प्रतिशतमा मिर्गौलासम्बन्धी प्रारम्भिक समस्या भेटिएको छ।
जिल्लागत रूपमा अर्घाखाँची, प्युठान र नवलपरासी पश्चिमले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् ।स्वास्थ्य कर्मीहरूले नसर्ने रोगको जोखिम घटाउन नियमित स्वास्थ्य परीक्षण, शारीरिक गतिविधि, धूमपान तथा मदिरा सेवन नियन्त्रण र स्वस्थ आहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल, लुम्बिनी आयुर्वेद चिकित्सालयका अध्यक्ष शालिक राम भुसाल ,तिलोत्तमा स्वास्थ्य शाखका जनस्वास्थ्य अधिकृत राम प्रसाद ढकाल जनस्वास्थ्य अधिकृत केशब भट्राई कमल पान्डेल तथा अन्य स्वास्थ्य संस्थाका प्रतिनिधि तथा प्रमुख समाजसेवी संञ्चारकर्मी लगायको सहभागीता रहेको थियो ।



प्रतिकया दिनुहोस्