स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा नसर्ने रोगको पहिचान तथा नियन्त्रणका लागि सञ्चालन गरिएको स्क्रिनिङ अभियान तीव्र गतिमा अघि बढिरहेको छ। जिल्लाका १६ वटै स्थानीय तहमा एकैसाथ सञ्चालन गरिएको अभियान अन्तर्गत हालसम्म ८३ हजार जनाको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ। अभियानको कुल लक्ष्य १ लाख १३ हजार नागरिकको परीक्षण गर्ने रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार लक्ष्यको करिब ७२ प्रतिशत परीक्षण सम्पन्न भइसकेको छ। अभियानमार्फत उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम पहिचान गर्ने कार्य भइरहेको छ। समुदायस्तरमै पुगेर स्वास्थ्यकर्मीहरूले परीक्षण तथा परामर्श सेवा प्रदान गरिरहेका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले अभियान अपेक्षाअनुसार अघि बढिरहेको बताउँदै निर्धारित समयभित्र लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे। उनले नसर्ने रोगका बिरामीको संख्या बढ्दै गइरहेको अवस्थामा समयमै परीक्षण र पहिचानले जटिल स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।
“हालसम्मको परीक्षण दर उत्साहजनक छ। स्थानीय तह, स्वास्थ्य संस्था र समुदायको सक्रिय सहभागिताले अभियान प्रभावकारी बनेको छ। प्रारम्भिक चरणमै रोगको जोखिम पहिचान गर्न सके उपचार र व्यवस्थापन सहज हुन्छ,” पाण्डेयले भने।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा थापाले सरकारको लक्ष्यअनुसार जिल्लामा स्वास्थ्य सम्बन्धी कार्यक्रमह रूलाई तीव्रता दिइएको बताइन्। उनले नसर्ने रोगको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै व्यापक परीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिइन्।
“सरकारको नीति तथा कार्यक्रमअनुसार जिल्लाभर स्वास्थ्य सेवाका गतिविधि प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। नसर्ने रोगको समयमै पहिचान र नियन्त्रणका लागि यो अभियान महत्वपूर्ण रहेको छ,” थापाले भनिन्।
स्वास्थ्य कार्यालयका अनुसार अभियान सम्पन्न भएपछि जोखिममा रहेका व्यक्तिहरूलाई थप परीक्षण, उपचार तथा नियमित परामर्श सेवासमेत उपलब्ध गराइनेछ। जिल्लामा नसर्ने रोग नियन्त्रणका लागि सचेतना अभिवृद्धिसँगै रोकथाममुखी कार्यक्रमलाई समेत प्राथमिकता दिइएको जनाइएको छ।



प्रतिकया दिनुहोस्