स्वास्थ्यसमाचार/ रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराएको करिब १ करोड ५८ लाख रुपैयाँ मूल्यको “सेतो रगत बनाउने मेसिन” (कम्पोनेन्ट सेन्ट्रीफ्युज) लगायक आबश्यक उपकरण दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। अस्पतालले अब आगामी आर्थिक वर्षदेखि उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले दुई वर्षअघि ठूलो लगानीमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको मेसिन उद्घाटनपछि प्रयोगमै नआएको बताउनु भयो। उहाँले “१ करोड ५८ लाख रुपैयाँमा किनेको मेसिन लगायक आबश्यक उपकरण उद्घाटन त भयो, तर त्यसपछि प्रयोग नभई थन्किएर राखिएको छ,” भन्नुभयो। दाताले दिएको सामग्री उपयोगमा नआउँदा दुःख लागेको उहाँको भनाइ छ।
अस्पतालका ल्याब इन्चार्ज मानबहादुर श्रेष्ठले पनि मेसिन उद्घाटनपछि नियमित सञ्चालनमा आउन नसकेको स्वीकार गर्नु भयो। उहाँका अनुसार आवश्यक जनशक्तिलाई तालिम नदिइनु र पर्याप्त रगत संकलन हुन नसक्नु मुख्य समस्या बनेको छ। उहाँले “यो सेवा अत्यन्त आवश्यक छ, तर यस क्षेत्रमै उपलब्ध छैन। अहिले नेपालगञ्ज र चितवनमा मात्र यस्तो सेवा छ,” बताउनु भयो। उहाँले सेवा सञ्चालनका लागि व्यापक प्रचार–प्रसार गरी रगत संकलन बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले आगामी आर्थिक वर्षदेखि मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो। उहाँले बजेट, कर्मचारी र व्यवस्थापनको तयारी मिलाएर साउन महिनादेखि सेवा सुरु गर्ने योजना रहेको जानकारी दिनुभयो। “दाताले दिएको सम्पत्ति हाम्रो लागि अमूल्य हो।
विगतमा भए पनि अब हामी यसलाई सञ्चालनमा ल्याउने तयारीमा छौं,” उहाँले बताउनु भयो।अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको अस्पतालले जनाएको छ ।

प्रतिकया दिनुहोस्