तिलोत्तमामा हुक्का र भेपको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुक्का र भेप (Vape) को प्रयोगमा कडाइ गर्दै नयाँ प्रतिबन्ध लागू गरेको छ। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माण गर्ने लक्ष्यअनुसार यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार होटल, रेस्टुरेन्ट, चिया पसल र क्याफेहरूमा खुला रूपमा हुक्का र भेपको प्रयोग हुँदा बालबालिका तथा किशोर–किशोरीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर परेको पाइएको छ।

त्यसैगरी, शैक्षिक संस्थाको पोसाकमै विद्यार्थीहरूले यस्ता पदार्थ सेवन गरेको भेटिएपछि दुर्व्यसनी नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाको भनाइ छ। १८ वर्ष मुनिका बालबालिकालाई हुक्का तथा भेप बिक्री वितरण गर्न र सेवन गराउन पूर्ण रूपमा रोक लगाइएको छ।

नगर कार्यपालिकाको मिति २०८३/०१/१० को निर्णयअनुसार, यो नियम उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ। नगर प्रमुख रामकृष्ण खाँणले हस्ताक्षरित सूचनामार्फत यो जानकारी सार्वजनिक गरिएको हो।

नगरपालिकाले बालबालिकाको सुरक्षित भविष्य र स्वस्थ समाज निर्माणका लागि यो कदम महत्वपूर्ण हुने जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :