लुम्बिनीमा स्वास्थ्य नीति तथा कार्यक्रम निर्माणका लागि छलफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आ.व. २०८३/८४ का लागि ल्याउने स्वास्थ्य नीति तथा कार्यक्रमको तयारी तीव्र पारेको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालयको सभाहलमा आयोजित छलफल तथा कार्यशालामा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको छ।

कार्यक्रममा स्वास्थ्य  मन्त्री खेम सारु ले स्वास्थ्य क्षेत्रलाई प्रदेशको समग्र विकासको आधार भन्दै गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी सेवा विस्तारलाई प्राथमिकतामा राखिने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रम जनताको वास्तविक आवश्यकता अनुसार बनाइनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ ले आगामी वर्षको नीति तथा कार्यक्रममा तथ्यमा आधारित योजना, सेवा प्रवाहमा सुधार, औषधि आपूर्ति व्यवस्थापन, तथा स्वास्थ्य जनशक्ति सुदृढीकरणलाई मुख्य आधार बनाइने जानकारी दिनुभयो। उहाँले सबै सरोकारवालाबाट प्राप्त सुझावलाई नीति निर्माणमा समावेश गरिने पनि स्पष्ट पार्नुभयो।

कार्यक्रममा निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश प्रयोगशाला, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य कार्यालय तथा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूले स्वास्थ्य सेवामा देखिएका चुनौती र सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार, उपकरण तथा औषधिको नियमित आपूर्ति, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, र आपतकालीन सेवा प्रणालीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य मन्त्रालयले प्राप्त सुझावहरूको आधारमा आगामी आ.व. २०८३/८४ को नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :