शिवराज अस्पतालबाट ३८ लाखभन्दा बढी रकम रहस्यमय ढंगले गायब

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।

शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आर्थिक वर्ष ०८१/८२ मा बैँक दाखिला गरिएका भनिएका १२८ भौचरका रकम खातामा नभेटिए पछि घटना सार्वजनिक भएको हो ।

आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशङ्का गरिएको छ ।

रकम हराए पछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शुक्रबार घटनाको विषयमा अनुसन्धान गर्नका लागि वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्नुभएको थियो ।

उहाँले रकम हिनामिना र किर्ते भौचर सम्बन्धमा अनुसन्धानको लागी उजुरी दिनुभएको थियो । रकम हराएको विषयमा छानबिन गरी दोषी माथि कानुनी कारबाहीका लागि अनुरोध गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले घटनाको विषयमा नगरपालिकाले पत्राचार गरेको र अनुसन्धानको चरणमा रहेको बताउनुभयो ।

नगरपालिकाको पत्रअनुसार अस्पतालले पेस गरेको भौचर नक्कली भएको कारणले खातामा रकम जम्मा नभएको बैँक मार्फत मौखिक जानकारी आएको जनाएको छ । तर अस्पतालका प्रशासनले भने उक्त रकम बैँकमा बुझाइएको र बैँकबाट प्राप्त भौचर रहेको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेका वडाध्यक्ष नेत्र बेल्वासेले जम्मा नभएका भौचरका रकमको विवरण बारे जानकारी लिन बैँकलाई पत्राचार गरिएको बताउनुभयो ।

हिनामिना भएको रकमको प्रहरी मार्फत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ रहेको थियो ।गोरखापत्रबाट साभार गरिएको

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :