स्वास्थ्य, शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन निर्वाचित

स्वास्थ्यसमाचार/ प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य शिक्षा,  तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ । शुक्रबार सिंहदरबारमा भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गुरुप्रसाद बराललाई पराजित गर्दै उहाँ सभापतिमा चुनिनुभएको हो ।

नवनिर्वाचित सभापति डा. शेरचनले पदभार ग्रहण गरेसँगै विज्ञताको आधारमा समितिको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सुझावअनुसार समितिले काम गर्ने बताउनुभयो ।

सभापति शेरचनले समितिको कार्यसम्पादनलाई नतिजामुखी बनाउन विषय विज्ञहरू सम्मिलित उपसमितिहरू तत्काल गठन गर्ने योजना सुनाउनुभयो । समितिमा स्वास्थ्यकर्मी, शिक्षाविद् र सूचना प्रविधि क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहेको उल्लेख गर्दै उहाँले सोही विज्ञतालाई सदुपयोग गर्ने स्पष्ट पार्नुभयो ।

“हामीसँग विभिन्न क्षेत्रका विज्ञता भएका सदस्यहरू हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अहिले हामी पक्ष र विपक्षभन्दा पनि ‘टिम नेपाल’ भएर अगाडि बढ्नेछौँ । डाक्टर, नर्स, शिक्षाविद् र सूचना प्रविधि विज्ञहरूलाई समेटेर उपसमिति निर्माण गरी कामलाई गति दिइनेछ ।”

सभापति शेरचनले समितिलाई राजनीतिक खिचातानीको थलोभन्दा पनि राष्ट्रिय आवश्यकता र जनहितका विषयमा केन्द्रित गराउने आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :