क्षयरोग रोकथाममा सबैको साझा दायित्व अपरिहार्य : मन्त्री सारू

स्वास्थ्यसमाचार/क्षयरोग नियन्त्रणमा समुदाय र स्थानीय तहको सक्रिय सहभागिता जरुरीलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले क्षयरोग (टिबी) रोकथाम तथा नियन्त्रणका लागि सबै तह र क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सारूले यस्तो धारणा व्यक्त गरे ।

उनले स्वास्थ्य सेवा मात्रले नभई समुदाय, परिवार र सरोकारवाला सबै पक्षको साझा प्रयासबाट मात्र क्षयरोग उन्मूलन सम्भव हुने स्पष्ट पारे । उनले भने , “क्षयरोग अझै पनि जनस्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका रूपमा रहेको छ । यसको नियन्त्रणका लागि समयमै पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ ।”

मन्त्री सारूले सरकारले निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गरेको उल्लेख गर्दै सेवाको प्रभावकारी उपयोग गर्न सबै नागरिकलाई आग्रह गरे ।मन्त्री सारूले क्षयरोग संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै भेदभाव र डरका कारण धेरै बिरामी लुकेर बस्ने प्रवृत्ति अझै रहेको बताए ।

“रोग लुकाउने होइन, समयमै उपचार गर्ने संस्कार विकास गर्नुपर्छ,” उनले भने, “समाजले पनि संक्रमितप्रति सहानुभूति र सहयोगी व्यवहार देखाउनुपर्छ ।”कार्यक्रममा उनले स्थानीय तहको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाले समुदाय स्तरमै सचेतना कार्यक्रम, परीक्षण अभियान र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

साथै, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि र स्रोत साधनको उचित व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, स्वास्थ्य मन्त्रालयका नोदनारायण चौधरी लगायतका वक्ताहरूले पनि क्षयरोग नियन्त्रणका लागि सचेतना, सहकार्य र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :