प्यूठान अस्पतालमा हेमोडायलाइसिस र एसएनसीयु सेवा सुरु

नसर्ने रोग जटिल बन्दै: खानपानमा सचेत हुन स्वास्थ्य मन्त्री सारुको आग्रह

स्वास्थ्यसमाचार/ प्यूठान अस्पतालमा हेमोडायलाइसिस सेवा तथा नवजात शिशु विशेष हेरचाह कक्ष (एसएनसीयु) सञ्चालनमा ल्याइएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच दुवै सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पछिल्लो समय रोगहरूको अवस्था जटिल बन्दै गइरहेकाले खानपानमा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नसर्ने रोगहरूको उपचारमा व्यक्ति र राज्य दुवैको ठूलो आर्थिक व्यय हुने भएकाले सचेतना र रोकथाम आवश्यक रहेको उल्लेख गर्नुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलका अनुसार विभिन्न निकायको सहकार्यमा हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याइएको हो। लायन्स क्लब, प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरूको सहयोगमा सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो।

डायलाइसिस सेवाका लागि अस्पतालमा ६ वटा बेड र ८ वटा मेसिन जडान गरिएको छ। जिल्लामा हाल ८६ जना मिर्गौला रोगी रहेको र उनीहरूलाई सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अब अन्त्य हुने अस्पतालले जनाएको छ।

यसअघि शल्यक्रियासहितको प्रसूति सेवा प्रदान गर्दै आएको अस्पतालमा एसएनसीयु सञ्चालन भएपछि नवजात शिशुको स्याहारमा थप गुणस्तरीय सेवा उपलब्ध हुने अस्पताल विकास समितिका अध्यक्ष विजयविराज बिष्टले बताउनुभयो। एसएनसीयु सञ्चालनका लागि मल्लरानी ग्रामीण सरोकार केन्द्रले समेत सहयोग गरेको छ।

प्यूठानसँगै लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पूर्व बाहेक अन्य १० वटै जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो।

प्युठान जिल्लामा मिर्गौला डायलाइसिस गर्ने बिरामीको संख्या तथ्यांकअनुसार ८६ जना रहेको देखिए पनि वास्तविक संख्या सोभन्दा बढी हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो। कार्यक्रमको सञ्चालन नर्सिङ अधिकृत राधा केसीले गर्नुभएको थियो।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :