स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नं. २ मा काँग्रेसका उम्मेद्वार चुन्न पौडेललाई मत दिन चिकित्सक तथा इञ्जिनियरहरूले आम मतदातासमक्ष आह्वान गरेका छन्।
नेपाल डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनी र डेमोक्रेटिक इञ्जिनियर्स नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा डाक्टर, इञ्जिनियर तथा विभिन्न पेशाकर्मीहरूले संयुक्त रूपमा काँग्रेस उम्मेद्वारलाई समर्थन जनाएका हुन्।
कार्यक्रममा बोल्दै रुपन्देही–२ का उम्मेद्वार पौडेलले चिकित्सक तथा इञ्जिनियरहरूको पेशागत हकहित र समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। उनले बुटवललाई सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्दै लुम्बिनी प्रादेशिक अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने तथा आम्दा अस्पताल लाई मेडिकल कलेजका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उनले मोतिपूर औद्योगिक क्षेत्र लाई टुंगोमा पु¥याई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका लाई आधुनिक सहरका रूपमा अघि बढाउने तथा ग्रामीण क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गरी उत्पादनको बजार सुनिश्चित गर्ने योजना सुनाए।
कार्यक्रममा कृष्ण खरेल, कृष्ण खनाल, अमित खनाल र कुशुमराज ज्ञवाली ले क्षेत्रका स्वास्थ्य, पूर्वाधार तथा औद्योगिक विकाससँग सम्बन्धित समस्या औंल्याउँदै ती समाधानका लागि स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको धारणा राखे।
त्यस अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले काँग्रेसले नागरिकमा आशा र भरोसा जगाएको उल्लेख गर्दै उक्त भरोसालाई मतमार्फत साकार पार्न आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले विकास, रोजगारी र पेशागत सम्मानका लागि काँग्रेस उम्मेद्वारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिकया दिनुहोस्