एमाले उम्मेदवार विष्णु प्रसाद पौडेलका स्वास्थ्य सुधारमा ११ प्रतिबद्धता

(पूर्णपाठसहित)

स्वास्थ्यसमाचार /  प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग-व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन्।

एमालेले स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। घोषणापत्रअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ। साथै, सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा आधारभूत अस्पताल तथा स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवाको विस्तार गरिने तथा सामुदायिक अस्पतालहरूको क्षमता वृद्धि गरिने योजना रहेको छ।

पार्टीले स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने र निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। यसअन्तर्गत, नागरिकले उपचारका लागि राजधानी धाउन नपर्नेगरी स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने लक्ष्य राखिएको छ।

घोषणापत्रमा संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत समावेश गरिएको छ। भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउने योजना प्रस्तुत गरिएको छ।

स्वास्थ्य क्षेत्रको प्रतिवद्धता : 

-रुपन्देही क्षेत्र नं. २ का साथै सम्पूर्ण रुपन्देहीका जनतालाई उपचारका लागि राजधानी वा अन्यत्र धाउनु नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

-निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल को पूर्वाधार निर्माण सम्पन्न गरी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनसहित सञ्चालनमा ल्याइनेछ।

-सैनामैना–४, मुर्गिया र तिलोत्तमा–६, आनन्दवनस्थित १५ शैयाको आधारभूत अस्पतालमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ।

-लुम्बिनी आयुर्वेदिक चिकित्सालय तथा सैनामैना प्राकृतिक चिकित्सालयलाई शिक्षण र उपचार केन्द्रका रूपमा विकास गरी आयुर्वेद, प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक पद्धतिको प्रभावकारिता वृद्धि गरिनेछ।

-सैनामैनामा प्रस्तावित ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गरी निर्माण कार्य आरम्भ गरिनेछ।

-गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, लायन्स आँखा अस्पताल लगायत सामुदायिक स्वास्थ्य संस्थाको पूर्वाधार विकास र स्तरवृद्धि गरिनेछ।

-बुटवल, तिलोत्तमा र सैनामैनाका विभिन्न वडामा रहेका स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रहरूको क्षमता विस्तार गरिने र गुणस्तरीय सेवाका लागि सहयोग र सहजीकरण प्रदान गरिनेछ।

-यी स्वास्थ्य संस्थाहरूबाट बाल तथा प्रसूतिसेवा, दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिनेछ।

-निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग तथा सहजीकरण गर्ने।

-निशुल्क रक्त सञ्चार सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।

-स्वास्थ्य बीमामार्फत गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न पहल गरिनेछ।

(पूर्णपाठसहित)

सम्बन्धित शिर्षक :